२३ बैशाख २०८३, बुधबार । May 6, 2026

मनप्रिय मनाङ


११ असार २०८१, मंगलबार  

6
Shares

मनाङ । प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् ।

हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो १ यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैजाँदै छौँ । मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर । कठिन भू–बनोटबीच पनि मनाङ आफैमा चित्रमय लाग्छ ।

हिमालले घेरिएको मनाङ जो कोहीको मनप्रिय गन्तव्य हो । यो प्रकृति र संस्कृतिको अनुमप थलो हो । जोखिम झेलेर यात्रा पार गर्ने पर्यटक त्यहाँ पुग्दा फुरुङ्ग हुन्छन् । गाह्रोसाह्रो बिर्सिदिन्छन् । मस्र्याङ्दीको सुसाहट, झरनाको छङ्छङ् र सिरसिरे हावाको स्पर्शमा रमाउँछन् । बेँशीसहर–चामे सडक छेउछाउका बुङ्ग, अक्टोपसआदि झरना हेरेर उनीहरु रोमाञ्चित बन्छन् ।

मनाङ पुग्न भीमकाय पहाड, भीरपाखा, खोल्सा र खोँच छिचोलेर अघि बढ्नुपर्छ । पदयात्रा र मोटरयात्रामा मनाङ पुग्न सकिन्छ । त्यहाँको हुम्डे विमानस्थल भने अहिले बन्द छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङ पदयात्राका लागि लोकप्रिय गन्तव्य मानिन्छ । एक दशकअघि मोटर पुगेपछि सडकमार्गबाट मनाङ घुम्न जाने पर्यटक पनि उत्तिकै छन् ।

मनाङ पुग्ने अधिकांशको सपना संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हुन्छ । तर त्यो सबैका लागि सम्भव हुँदैन । आँटिला र स्वस्थ व्यक्तिले मात्र थोरङ भञ्ज्याङ पार गर्न सक्छन् । मनाङ ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ ।

पाँच हजार चार सय १४ मिटरको उचाइमा रहेको थोरङ भञ्ज्याङ विश्वभरका पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हो । थोरङ भञ्ज्याङ काटेर पदयात्री पर्यटकहरु मुस्ताङको मुक्तिनाथ क्षेत्र पुग्छन् । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीको पवित्र धार्मिकस्थल हो ।

मनाङ ङिस्याङ–१ भ्राताङमा भेटिएका पर्यटक पथप्रदर्शक अनिल लामा अमेरिकामा बस्ने नेपाली परिवारका सदस्यलाई लिएर थोरङ भञ्ज्याङ जाँदै थिए । सदरमुकाम चामेबाट पदयात्रा सुरु गरेको उनले सुनाए । चामे समुद्री सतहदेखि दुई हजार आठ सय ३१ मिटर उचाइमा अवस्थित छ ।

अग्ला पहाडको खोँच र मर्स्याङ्दी नदीको किनारमा रहेको चामेबजारमा एक रात बिताएर उनीहरु मनाङ गाउँतिर जाँदै थिए । “तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हो, छ–सात दिन जति लाग्ला”, उनले भने, “पहिलो दिन पिसाङ, दोस्रो दिन मनाङ गाउँ र तेस्रो दिन तिलिचो आधार शिविरमा बास बसेर बल्ल तिलिचो ताल पुग्ने योजना छ ।”

तिलिचोबाट फर्केर श्रीखर्क हुँदै थोरङ भञ्ज्याङ जाने तालिका रहेको लामाले सुनाए । तिलिचोबाट दुई दिनमा थोरङ भञ्ज्याङ पुग्न सकिन्छ । थोरङ भञ्ज्याङ जान नसक्नेहरु श्रीखर्कबाट खाङ्सार हुँदै मनाङ गाउँ फर्कन्छन् । बेसीशहरबाट मोटरयात्रामा सिधै खाङ्सार पुगेर त्यहाँदेखि दुई दिनको पदयात्रामा तिलिचो ताल पुग्न सकिने लामाले बताए ।

चामेबाट पदयात्रामा जाँदा भने चार दिन लाग्ने उनको भनाइ थियो । चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले पदयात्रीले लिने विश्रामको अवधिले तिलिचो र थोरङ भञ्ज्याङ जान लाग्ने समयको निर्धारण गर्ने बताउँछन् । “प्रायः विदेशीहरु चामेबाट पदयात्रा सुरु गर्छन्, चार–पाँच दिन लगाएर तिलिचो पुग्छन्, नेपालीहरु भने अलि छिट्टै पुग्छन्”, उनले भने ।

पहिलो पटक पुग्ने पर्यटकले तिलिचोलाई ‘स्वर्गको टुक्रा’ पनि भन्ने गरेको उनले सुनाए । “तिलिचोलाई चारैतिरबाट हिमालले घेरेको छ, भगवान् शिवले तपस्या गरेको किंबदन्ती रहेकाले धार्मिक हिसाबले पनि यो तालको महत्व छ”, फुर्वाले भने, “तिलिचोसँगै गङ्गापूर्ण, ग्रीन लेक, काजिन्सारालगायतका तालतलैयाले मनाङको सौन्दर्य बढाएको छ ।” कतिपय तालको अझै पहिचान नै हुन नसकेको उनले बताए ।

तिलिचो र थोरङ भञ्ज्याङबाट अन्नपूर्ण–२, अन्नपूर्ण–४, लमजुङ, मनास्लु, गङ्गापूर्णलगायत कैयौँ हिमशृङ्खलाको एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ । चामे होटल व्यवस्थापन उपसमितिका अध्यक्ष फुर्वाले पाँच हजार एक सय छ मिटर उचाइको लार्के भञ्ज्याङ पनि पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।

गोर्खाको मनास्लु संरक्षण क्षेत्रबाट लार्के भञ्ज्याङ काटेर पदयात्री पर्यटकहरु मनाङ छिर्ने गरेको उनको भनाइ छ । “मनाङको धारापानीबाट तिल्चे, भीमथाङहुँदै लार्के भञ्ज्याङ पार गरेर मनास्लु क्षेत्र पनि पुग्न सकिन्छ”, उनले भने । पाँच हजार तीन सय २० मिटर उचाइमा अवस्थित काङ्ला भञ्ज्याङले पनि मनाङ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

काङ्ला भञ्ज्याङ काटेर मनाङकै पर्यटकीय गाउँ नार पुग्न सकिन्छ । अध्यक्ष फुर्वाले सडक आएपछि अन्नपूर्ण चक्रीय पदमार्गको साख भने गुम्दै गएको बताए । “विशेष गरी पदयात्राका लागि विदेशी पर्यटकको रोजाइमा मनाङ पर्ने गर्छ, तर पछिल्लो समय सडक निर्माणका क्रममा पदमार्ग नासिएका छन्, कतै छोटिएका छन्”, उनले भने, “मनाङको पर्यटनलाई चलायमान बनाइराख्न र विदेशी पर्यटकलाई आकर्षित गर्न वैकल्पिक पदमार्ग बनाउनुपर्छ ।”

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पदमार्ग सङ्कटमा पर्दा लमजुङ र मनाङका पर्यटन व्यावसायी नै विस्थापित हुने अवस्था आएको बताए । “पदयात्रा पर्यटनमा आधारित व्यवसायी पलायन भइरहेका छन्, कति त बस्ती नै विस्थापित भए”, उनले भने, “पुराना पदमार्ग नासिँदा सडकको धुलो र हिलो सहँदै पदयात्रा गर्न पर्यटक बाध्य छन्, यस विषयमा सम्बद्ध सबै पक्ष संवेदनशील र जिम्मेवार हुनुपर्छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखसम्म मनाङमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रने गरेको बताए । “दुई वटा मुख्य याममा मनाङका गन्तव्यस्थल पर्यटकले भरिभराउ हुन्छन्, वर्षात् र जाडोयाममा पनि फाटफुट रुपमा स्वदेशी तथा विदेशी पर्यटक मनाङ घुम्न आइरहन्छन्”, उनले भने ।

प्रमुख भुजेलका अनुसार सन् २०२३ मा २२ हजारभन्दा बढी विदेशी पर्यटकले मनाङ भ्रमण गरेका थिए । बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको उनको भनाइ छ । हमास–इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको प्रमुख भुजेलले बताए । आन्तरिक पर्यटकको भने यकिन तथ्याङ्क ‘एक्याप’सँग पनि छैन ।

भारतीय र नेपाली पर्यटक मोटरबाइक लिएरै मनाङ पुग्ने गरेका छन् । विकट भूगोल र जोखिमपूर्ण सडकका कारण पनि वर्षातका बेला मनाङमा पर्यटकीय चहलपहल घट्ने गर्छ । कतिपय होटल तथा रेष्टुराँ अहिले बन्द भइसकेका छन् । ‘अफसिजन’मा पर्यटकीय गतिविधि कम हुने भएकाले कतिपय होटल तथा रेष्टुराँ सञ्चालकहरु व्यवसाय नै बन्द गरेर काठमाडौं, पोखरालगायत ठाउँमा जाने गरेका छन् ।

प्रमुख भुजेलले मनाङमा तीन सयभन्दा बढी होटल सञ्चालनमा रहेको जानकारी दिए । “पर्यटकस्तरिय होटल, रेष्टुराँ, चिया–खाजाघर छन्, यहाँ आउने पर्यटकको सुविधालाई हेरेर व्यवसायीले विभिन्न सेवा पनि थपिरहेका छन्”, उनले भने, “एक्यापले पनि पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि, पर्यटकीय गन्तव्यस्थलको प्रवर्द्धनलगायतमा स्थानीय बासिन्दालाई सघाउँदै आएको छ ।”

रोमाञ्चक र साहसिक पदयात्रा रुचाउनेलाई मनाङ उत्कृष्ट गन्तव्य रहेको प्रमुख भुजेलले बताए । मनोरम प्रकृति, संस्कृति, बौद्ध परम्परा, हिमाली जनजीवन आदि मनाङका पहिचान र आकर्षण हुन् । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किमि मोटरयात्रामा लमजुङ सदरमुकाम बेसीशहर पुग्न सकिन्छ ।

बेसीशहरबाट छ घण्टाको मोटरयात्रामा मनाङको चामे र चामेदेखि मनाङ गाउँसम्म साढे दुई घण्टामा पुग्न सकिन्छ । मनाङ गाउँबाट भने खाङ्सारसम्म आधा घण्टामै पुग्न सकिन्छ । खाङ्सारबाट अघि सडक पुगेको छैन । चामेबाट भ्राताङ, पिसाङ, हुम्डे हुँदै मनाङ गाउँ जोडिन्छ । मनाङ गाउँबाट नजिकै गङ्गापूर्ण हिमताल अवस्थित छ । पिसाङमा ग्रीन लेकपर्छ । काजिन्सारा ताल पुग्न भने चामेबाट दुई दिनको पदयात्रा गर्नुपर्छ ।

मनाङको मुख्य आयस्रोतको क्षेत्र पर्यटन रहेको भन्दै पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्द्धनका लागि सक्दो पहल लिने गाउँपालिका अध्यक्ष घलेले बताए । मनाङ जोड्ने सडक स्तरोन्नति गर्न सके बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक मनाङ भित्र्याउन सकिने उनको बुझाइ छ । पर्यटकीय याममा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मनाङ भित्रने गरेका छन् ।पहिले विदेशी पर्यटक बढी आउने गरेकोमा, पछिल्लो समय आन्तरिक पर्यटकको पनि आवागमन बढेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको