२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास


७ श्रावण २०८१, सोमबार  

123
Shares

काठमाडौं । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ ।

मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको विकास भएको पाइन्छ । तर यहाँ भाषाको इतिहास र विकासबारे चर्चा गर्न खोजिएको होइन । यहाँ त मण्डला नाटकघरमा शनिबारदेखि मञ्चन सुरु भएको नाटक ‘मेषी दण्ड’ (मेखी दण्ड) बारेमा चर्चा गर्न खोजिएको हो । आफूइतरको भाषा नजान्दा समुदायले भोगेको समस्या नाटकमार्फत देखाउने प्रयास गरिएको छ । किराँत राई समुदायअन्तर्गतको खालिङ राई भाषीमाथि करिब एक सय ५० देखि दुई सय वर्षअघि तत्कालीन शासकहरुले कसरी निर्मम दमन गरे भन्ने नाटकमा देख्न सकिन्छ ।

नेपाली भाषा नजान्दाको घटनालाई मूल विषयवस्तु बनाएर निर्माण गरिएको नाटक हो ‘मेषी दण्ड’ । सोलुखुम्बुको सुदूरउत्तरी गाउँ हालको माप्य दूधकोशी गाउँपालिकाको राप्छा गाउँको कथा हो यो । नाटक सोही गाउँका कवि तथा नाटककार गिलु रातोसले लेखेका हुन् । जसलाई कलात्मक ढङ्गबाट निर्देशन गरेका छन् अनिल सुब्बाले । लेख्य इतिहास नभए पनि किराँत समुदायको मौखिक इतिहास अर्थात् मिथक जीवित पाइन्छ ।

पुर्खाहरुका अनुसार सम्भवतः नेपाल–तिब्बत युद्धका बेला हुनुपर्दछ, तत्कालीन श्री ३ सरकारका फौजहरु सोलुखुम्बुको नाङपाला नाका जाने आउने क्रममा राप्छा गाउँमा आइपुगेका थिए । खालिङ भाषी समुदायले भरिएको राप्छामा उनीहरुले राज्यको नीति निर्देशनहरु उर्दी गरे । तर, त्यहाँ कोही पनि नेपाली भाषा जान्दैनथे । शासकहरुले जे भने पनि उनीहरुले ‘मेषी माका’ अर्थात् ‘त्यही त हजुर’ भनेर जवाफ फर्काए ।

राणा शासकहरुले मेषी माकाको अर्थ बुझेनन् । नेपाली भाषा बोल्न नजानेको भन्दै उनीहरु रुष्ट भए । त्यसपछि त्यहाँ बसोबास गर्ने खालिङहरुलाई बर्सेनि मेषी दण्ड तिर्नुपर्ने आदेश गरे । सोही समयदेखि राप्छाका खालिङ समुदायले राणाशासन अन्त्य नभएसम्म मेषी दण्डबापत श्री ३ सरकारलाई जरिवाना बुझाइरहे । यसरी एउटा आदिवासी जनजाति समुदायमाथि तत्कालीन शासकहरुले भाषाकै कारण कसरी दमन गरे भन्ने विषयलाई करिब डेढ घण्टा लामो नाटकबाट बुझ्न सकिन्छ । नाटक यही साउन २७ गतेसम्म सोमबारबाहेक नियमित मञ्चन हुने मण्डला नाटकघरले जनाएको छ ।

नाटकका मुख्य पात्रका रुपमा खालिङ समुदायका तालुकदार सुजम्बर र उनैले नेपाली भाषा सिक्न अन्यत्रबाट राप्छा ल्याएका सिंहवीर कार्की छन् । नेपाली भाषा बोल्न जाने मेषी दण्ड तिर्नुनपर्ने आशामा भाषा सिक्नकै लागि आफूले आवाद गरेको भूमि सिंहवीर कार्कीलाई सुम्पिएर गाउँको प्रमुख बनाउछन् । कार्की गाउँ प्रमुख भएपछिका सामाजिक द्वन्द्व नाटकमा प्रस्तुत गरिएको छ । सिंहवीरले आफूमात्र नभई आफ्ना पण्डित, कपडा सिलाउने दमाई, फलाम पिट्ने विश्वकर्मासहित राप्छा पुगेपछि खालिङ राईहरुमा कसरी धार्मिक, सांस्कृतिक हस्तक्षेप र प्रभाव पर्यो ? खालिङ समुदायभित्रको एकता कसरी खल्बलियो र सामाजिक विभेदका कस्ता रङहरु देखा परे ? शान्त तलाउ जस्तो आफ्नै लयमा बाँचिरहेको राप्छामा सिंहवीरको प्रवेशसँगै कसरी उथलपुथल सुरु भयो ? भन्ने विषय नाटकमा देख्न सकिन्छ ।

राई समुदायमा पनि फलामको काम गर्ने, कपडा सिउने व्यक्ति हुन्थे । तर, उनीहरुमा कुनै विभेद वा छुवाछुत हुन्न थियो । कतिपयका लागि यस्ता नयाँ जानकारी मेषी दण्डले दिएको छ । नाटकमा कलाकारद्वारा प्रस्तुत खालिङ भाषा र लवज, भेषभूषा, शैलीले नाटकलाई जीवन्त बनाएको छ । मुन्दुमी परम्परा, उधौली उभौलीमा नाचिने नृत्य, सङ्गीत र रैथाने जीवनशैलीले जोकोहीलाई स्थानीय परिवेशमा पुर्याउँछ ।

नाटकमा प्रस्तुत कतिपय नृत्य र कथाको संयोजन सामान्य दर्शकले सजिलै बुझ्न सक्दैनन् । साकेला सिलीमा राई मात्र नभएर अन्य खस जातिजस्ता देखिने अनुहार भएकाले दर्शकलाई थोरै अस्वाभाविक लाग्नसक्छ । सिंहवीर कार्कीका नाति र शिरिषलालका नातिनीबीचको प्रेम सम्बन्ध अचानक देखाइँदा कथाको सिलसिला थोरै नमिले जस्तो अनुभव दर्शकले गर्न सक्छन् । पात्रका रुपमा सुजम्बरको श्रीमतीको अभिनय गरेकी जुनमफूल (प्रतिना राई)ले दर्शकको ध्यान खिच्न सफल भएकी छन् । प्रयुक्त रङ, प्रकाश, स्थान, तत्कालिक समुदायको भावभङ्गिमाले नाटकको मूल कथालाई न्याय गरेको छ ।

लेखक गिलु रातोसको पहिलो नाटक लेखन भए पनि नाटककारका रुपमा रातोस् परिपक्व देखिएका छन् । नाटकको वास्तविक स्वाद लिन एकपटक मण्डला पुग्नैपर्ने हुन्छ । त्यसो त इतिहासमा संसारभर आदिवासी समुदायमाथि अनेकन् दमन भएका छन् । दमनका विविध रुप छन् । आदिवासीमाथि शासकहरुले भाषा, संस्कृति, धर्म, जात, वर्णमाथि प्रहार गर्दा आदिवासीको अस्तित्व क्षत्विक्षत हुँदै आएको छ । नेपालमा विसं १९१० को मुलुकी ऐनमा तामाङ जातिलाई मासिन्याको रुपमा उल्लेख गर्नु नेपालका लागि एउटा जबर्जस्त उदाहरण छँदैछ ।

सोही ऐनले गाईगोरु बधलाई निषेध गर्नु आदिवासीका प्राचीन धर्ममाथिको प्रहार थियो । भाषामाथिको दमनविरुद्ध काठमाडौँ उपत्यकाका नेवार समुदायहरुले लामो समयदेखि विद्रोह गर्दै आएको इतिहास छ । शाहवंशको आगमनपछि काठमाडौँ उपत्यकामा गोर्खाली भाषा अदालतको भाषा बन्यो । नेपाल भाषा (नेवारी) लाई प्रशासनको भाषाका रूपमा प्रतिस्थापित गरियो । शाह वंशीय राजाले दमनकारी नीति अवलम्बन गरे ।

नेपाल भाषीले राणा वंश (१८४६–१९५१ इस्वी) को दमनकारी नीतिअन्तर्गत भारी पीडा भोगे । सन् १९०६ मा नेपाल भाषामा लेखिएका कानूनी कागजातहरू लागू गर्न नसकिने घोषित गरियो । यो भाषामा कुनै पनि प्रमाण अवैध घोषित गरियो । शासकहरूले नेवारी साहित्य प्रतिबन्ध लगाए र लेखकहरूलाई जेल पठाइयो । सन् १९४४ मा नेपाल भाषामा लेख्ने लेखकहरुलाई देशबाट निष्कासित गरियो । मातृभाषामाथिको दमनको एउटा उदाहरण हो यो । विसं २००७ सालमा प्रजातन्त्र स्थापनापछि रेडियो नेपालमा नेपाल भाषाको समाचार र कार्यक्रम प्रसारण हुन्थ्यो ।

पञ्चायतसँगै रेडियो नेपालबाट उक्त भाषाको समाचार र कार्यक्रम दुवै हटाइयो । उपत्यकाका नेपाल भाषीहरुले विभिन्न चरणमा आन्दोलन गरे । सोही आक्रोशले विसं २०४६ सालको जनआन्दोलन सफलता प्राप्तिमा नेवार समुदायको भूमिका अह्म रह्यो । यसरी भाषाकै कारण भएका दमनहरुको शृङ्खलामा खालिङहरुमाथि भएको दमनलाई मेषी दण्डले नाटकका माध्यमबाट अभिलेखित गरेको छ । पछिल्ला वर्षमा आदिवासी तथा पिछडिएका समुदायको पहिचानसँग जोडिएका विविध आन्दोलन राजनीतिकभन्दा बढी कलाका माध्यमबाट तुलनात्मक रुपमा सशक्त देखिएका छन् ।

मण्डलामै मञ्चन भएका पछिल्ला नाटकहरु बाखाम्मा, खुवालुङ त्यसका उदाहरण हुन् । मेषी दण्ड त्यही आन्दोलनको एउटा निरन्तरता हो । यस नाटकमा रमिता राई, सौजन लिम्बू, प्रतिना राई, मणि के राई, अरुण पौडेल, पूर्णबहादुर गन्दर्भ, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, शायोक मुकारुङ, संजिप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रविण मगरलगायतले अभिनय गरेका छन् ।

नाटकको अन्त्यमा कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आफ्नै स्वरमा वाचित कविताले नाटक‍लाई थप सशक्त बनाएको छ । राईको कविताको एउटा अंशले भन्छ…
ओ आगन्तुक
युगौँदेखि बोकिरहेछु
मैले आफ्नो शरीरमाथि
तिम्रो जुत्ताको डाम
भोगिरहेछु तिम्रो दण्ड विधान
लामो निन्द्रापछि बल्ल म ब्युँतिएको छु
सम्झ अब म ब्युँतिएपछि
सुरु हुनेछ अर्को कथा…

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१