२२ माघ २०८२, बुधबार । February 4, 2026

पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘बराह ताल’



ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ ।

बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन् । ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ । बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ ।

तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ । गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ । ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ ।

पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय सोमबहादुर थापामगरले बताए । उनका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ । बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापामगर बताउँछन् ।

उनि भन्छन्, “बराह ताल पहिले अलि फरक थियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छे बढेर होला यहाँ आउनेको सङ्ख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ ।” बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापामगरको भनाइ छ ।

पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचार–प्रसारमा व्यापक बनेको थापामगरले बताए । बराह तालमा हरेक जेठको पूर्णिमा र कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ । मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी, कास्कीलगायतका ठाउँबाट पर्यटक घुम्न आउने गर्छन् । बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

तालको प्रचार–प्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका–१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापामगरले बताए । उनले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेको हुँदा बिदाका दिन विभिन्न सङ्घसंस्था, विद्यार्थी, व्यापारी रमाइलोका लागि आउने गरेको बताउँछन् ।

ताललाई थप व्यवस्थापन गर्नका लागि नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापामगर बताउँछन् । “जिल्लामै सबैभन्दा राम्रो तालका रूपमा रहेको छ यो बराह ताल, अरु ठाउँका ताल पनि देखियो तर योजस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेला–बेला विदेशी पर्यटक पनि आउने गर्छन्”, अध्यक्ष थापामगरले भने, “तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनुपर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको सङ्ख्या दोब्बरले बढ्ने देखिन्छ, हामीहरू ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौँ ।” ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन् ।

ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन । बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकैपटक धवलागिरि, माछापुछ«े ,अन्नपूर्णलगायत २२ वटा हिमशृङ्खालाको अवलोकन गर्न सकिन्छ । भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होमस्टेकी उपाध्यक्ष इन्द्रा थापामगरले बताइन ।

उनले पाहुनालाई लक्षित गरी गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताइन् । घरबास लामो समयदेखि सञ्चालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उनको भनाइ छ । पाहुनालाई सिन्कीको अचार, कोदोको रोटी ढिडो, लोकल कुखुरालगायतका परिकार खान दिने गरेको थापामगरले बताइन् ।

रहेक वर्ष विदेशी पर्यटक पनि आइराखेको उनको भनाई छ । थापामगर भन्छिन् , “कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो, अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होमस्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेटलगायतका सेवा थप गरेका छौँ, पहिलेभन्दा व्यवस्थित हुँदै गएका छौँ ।”

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल