११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

संरक्षण नहुँदा गिद्ध सङ्कटमा


३० फाल्गुन २०७९, मंगलबार  

6
Shares

बैतडी । बैतडीसहित सुदूरपहाडका पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् ।

बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । यहाँको पाटन नगरपालिका–८ स्थित सिद्धनाथधाम क्षेत्र, पाटनकै वडा नं ३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्र गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ । पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए ।

विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन् । उनले भने, “अतिसङ्कटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा सङ्कटमा परेका छन्, केही वर्षयता गिद्ध कम सङ्ख्यामा देखिन थालेका छन्, पहाडी क्षेत्रमा गिद्ध सङ्कटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो ।” फागुनदेखि जेठसम्म प्रजनन गराउने समयमा रहेकाले यही समयमा आगलागीका घटना बढ्ने गरेकाले गिद्ध लोप हुँदै गएका हुन् ।

उनले भने, “प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध सङ्कटमा परेका छन्, आहार र बासस्थान कमी भएपछि पलायन हुने गर्दछन् ।” प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धका लागि गुँड बनाउने ठुल्ठूला रुख नभएकाले लोप हुँदै गएको बताइन्छ । यसका साथै पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड (जनावरमा दुखाइ कम गर्ने औषधि) जस्ता औषधिको प्रयोगले पनि गिद्धको स्वास्थ्य प्रतिकूल असर पुर्याउने पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चराविज्ञको भनाइ छ ।

साथसाथै आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत् लाइनमा ठोक्किएर मर्ने गरेका विज्ञ डगौराको भनाइ छ । चरा विज्ञका अनुसार बैतडीमा हिमाली, हाडफोर, गोब्रे (सेतो गिद्ध), राजगिद्ध, सुनगिद्ध, डङर तथा सानो खैरो गरी आधा दर्जन बढी गिद्ध बस्ने गरेका छन् । गिद्ध आफैँले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्दछन् ।

फोहर तथा हानिकारक मासुजन्य सिनोलाई खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन् । गिद्धमा हानिकारक तत्वलाई पनि पचाउन सक्ने क्षमता हुने भएकाले वातारवरणलाई पनि स्वच्छ राख्ने काम गर्दछ । गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले ठोसरूपमा आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

सरकारबाट गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम नभएकाले पनि यस्तो समस्या आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने, “इकोसिस्टम जोगाउन गिद्धको ठूलो भूमिका छ, गिद्ध संरक्षणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन ।” गिद्ध संरक्षणका लागि कुनै पहल नभएको र यसका लागि सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीको भनाइ छ ।

उनले भने, “गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ ।” गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाई नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा गिरीको जोड छ । चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो ।

यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । गिद्ध पर्यावरणको शुद्धीका साथै प्राणी मात्रका लागि पूजनीय रहेको उनको भनाइ छ ।

धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुञ्जेल लडेको उल्लेख छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्