३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

विचारहरूको आँधीमा उभिएको पाठक: शेषराज भट्टराई


१० बैशाख २०८२, बुधबार  

129
Shares

शिक्षा, नेतृत्व र निरन्तर सिकाइप्रतिको आकर्षण शेषराज भट्टराईको परिचयजस्तै भइसकेको छ।

अहिले उनि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्ष छन् । तर, त्यो जिम्मेवारीभन्दा बाहिर उनिभित्र एउटा पुस्तकप्रेमी मन छ-जो किताबसँग गहिरो सम्बन्ध राख्छ । उनको कुरा गर्दा लाग्छ, किताब उनका लागि केबल पढ्ने सामग्री होइन, जीवन बुझ्ने, सोच्ने र निर्णय गर्ने आधार हुन् । विश्व पुस्तक दिवसको अवसर पारेर हामीले उनिसँग केही पुस्तक केन्द्रित कुरा गर्यौँ । कुराकानीका क्रममा किताबले कसरी नेतृत्व, विचार र व्यवहारमा असर पार्छ भन्ने धेरै कुरा खुल्दै गयो ।

इक्यानका अध्यक्ष तथा पुस्तकप्रेमी शेषराज भट्टराईसँगको यो विशेष संवाद…

१.सबैभन्दा पहिले आफैंले पैसा तिरेर किनेको पुस्तक कुन थियो ?
मैले पहिलोचोटि ‘१९८४’ किनेको थिएँ-जर्ज अर्वेलको । त्यो बेलामा म कक्षा १२ मा थिएँ, भद्रपुरको एमरल्ड एकेडेमीमा पढ्थें । हाम्रा प्रिय शिक्षक तिलक पराजुली सरले यो किताबको सन्दर्भ धेरै दिनुहुन्थ्यो-त्यसले मेरो भित्र चासो जगायो । किताबको कभर, शीर्षक, अनि त्यो सन्दर्भले मलाई खिच्यो । अन्ततः मैले आफैं पैसा जम्मा गरेर किताब किनें । जब आफैंले कमाएर वा बचाएर किताब किन्नुहुन्छ, त्यसमा एउटा भावनात्मक लगाव पनि हुन्छ । त्यसैले होला, यो किताब पढ्दा हरेक शब्द झन् गहिरो लाग्यो । त्यो दिनदेखि आजसम्म, किताब किन्नु र पढ्नु मेरो जीवनको एउटा अङ्ग नै बनेको छ ।

२. तपाईंलाई मौका मिले, कुन लेखकसँग चिया–कफी खाँदै गफ गर्न मन लाग्छ ?
मैले रोज्ने लेखक हो-मैरी वोलस्टोनक्राफ्ट शेली । उहाँले २० वर्षको उमेरमै Frankenstein लेख्नुभयो, जुन आज पनि यत्तिकै सान्दर्भिक लाग्छ । उहाँको लेखाइमा विज्ञान, दर्शन, कल्पना र समाजप्रतिको दृष्टिकोण मिसिएको छ । खासमा उहाँ १८ औं शताब्दीको अन्ततिरको लेखक हुनुहुन्थ्यो-१७९७ मा जन्मनुभएको हो । सोच्नुस् त, त्यो समयका महिला लेखकहरूले कस्तो चुनौती झेले होलान ? उहाँसँग मैले कुरा गर्न पाउँदा, उहाँको समाजप्रतिको नजरिया, लेखनको प्रेरणा र त्यो समयको बौद्धिक वातावरण कस्तो थियो भनेर बुझ्न चाहन्छु ।

३.एउटै किताब दुई फरक समयमा पढ्दा अर्थ नै फेरिएको महसुस भएको छ ?
अवश्य भएको छ । अल्बर्ट कामुको The Myth of Sisyphus पढेको बेला म युवावस्थामा थिएँ । त्यो बेला धेरै कुरा बुझिएन-केही भारी कुरा लाग्थ्यो । तर पछि, जब जीवनले विभिन्न मोड देखायो, अनि फेरि किताब खोल्दा, त्यहाँको “अवसादभित्रको विद्रोह” भन्ने भावले मलाई झनै छोयो । लाग्यो, जीवनको अर्थ त संघर्ष स्विकार्ने क्षमतामा नै रहेछ । अहिले यो किताब मलाई एउटा दार्शनिक साथीजस्तै लाग्छ, जुन कहिलेकाहीँ बोल्दैन, तर धेरै बुझाउँछ ।

४. ECAN मा नेतृत्व गर्दा तपाईंले कुन किताबहरूबाट प्रेरणा लिनुभयो ?
नेतृत्व भनेको केवल निर्देशन होइन, प्रेरणा, विश्वास र सहकार्य पनि हो । यस अवधारणा बुझ्न मलाई Leaders Eat Last (Imon Inek) ले धेरै सिकायो-नेताले अन्तिममा खाने अर्थ नै अरूको ख्याल गर्ने संस्कृति हो । त्यसबाहेक, The Art of War (Sun Tzu) बाट रणनीति र धैर्य सिकें । अनि 7 Rules of Power ले म सँग शक्ति उपयोग र सन्तुलनका तरिका साझा गर्यो । यी किताबहरूले मलाई निर्णय गर्न, टिम निर्माण गर्न र भविष्यका योजनाहरू बनाउन सघाए ।

५.तपाईंलाई सबैभन्दा मन पर्ने नेपाली लेखकहरू को–को हुन ?
शंकर लामिछानेको लेखन म निकै रुचाउँछु—उहाँका शैली, भाषिक चातुर्य र गहिरो अनुभूति अद्वितीय छन् । परिजातको ‘शिरिषको फूल’ मा जुन मौन विद्रोह छ, त्यो मलाई झनै अर्थपूर्ण लाग्छ । नयाँ पुस्ताबाट बसन्त बस्नेत मलाई मनपर्छन—उहाँको शैलीमा खोज छ, दृष्टिकोण छ, अनि सामाजिक विषयको स्पष्टता छ । उहाँको पत्रकारिता र लेखन दुवैमा एउटै गहिराइ भेटिन्छ ।

६.अहिलेसम्म सबैभन्दा धेरै कसको किताब पढ्नुभएको छ ?
बी.पी. कोईरालाकै किताब धेरै पढेको छु । उहाँको किताब एकचोटि पढेपछि मनै छोइहाल्छ, अनि फेरि पढ्न मन लाग्छ । सुम्निमा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदी आइन, हिटलर र यहूदी, सिपाहीकी स्वास्नी-यी सबै किताब पढ्दा लाग्छ, मान्छेको मनभित्र के–के चलिरहेको छ ? समाज कता गइराखेको छ ? राजनीतिमा मान्छे कति उल्झिएको छ ? सबै देखिन्छ । सबैभन्दा गहिरो असर त जेल जर्नल ले पारेको छ । जेलमा बसेर लेखिएको भए पनि, त्यो किताब पढ्दा लाग्छ-उहाँले जेलको भित्ताभन्दा बाहिरको देश, देशभित्रको दुःख, अनि राजनीति र जीवनको भित्री कुरा लेख्नुभएको हो । उहाँका कुराहरू सुन्दा यस्तो लाग्छ, मानौँ उहाँ सँगै बसेर गफ गरिरहनुभएको छ । बी.पी. का किताबले मलाई सोच्न सिकाएको छ-मान्छे बुझ्न, समाज बुझ्न, अनि आफूलाई पनि अलिक गहिरो गरि हेर्न सिकाएको छ । उहाँ लेखक मात्रै होइन, सोच्ने मान्छे हुनुहुन्थ्यो । त्यसैले होला, उहाँको लेखाइ कहिले पुरानो लाग्दैन—जति पढे पनि नयाँ कुरा भेटिन्छ ।

७. तपाईं फिक्सन पढ्न रुचाउनुहुन्छ कि नन–फिक्सन ?
म नन–फिक्सनतर्फ धेरै आकर्षित छु । विशेषतः इतिहास, कूटनीति, आत्मकथा र रणनीति सम्बन्धी किताबहरू मलाई मन पर्छ । यस्ता किताबले वास्तविक दुनियाँका अनुभव, सिकाइ र संघर्ष देखाउँछ-जसबाट म धेरै कुरा लागू गर्न सक्छु, चाहे व्यक्तिगत जीवनमा होस् या नेतृत्वमा ।

८. पुस्तकका सबैभन्दा प्रभावशाली पात्र तपाईंका लागि को हो ?
The Godfather
को भिटो कोरलेओन मेरो लागि सबैभन्दा प्रभावशाली पात्र हो । यो पुस्तक मारियो पुजोले लेखेका हुन, र पछि फ्रान्सिस फोर्ड कोपोलाले फिल्म पनि बनाएका छन् । मार्लन ब्रान्डोले फिल्ममा उनको भूमिका जबर्दस्त छ ।

९. तपाईंलाई मन परेको नेपाली फिक्सन कृति कुन हो ?
कृष्ण धरावासीको ‘राधा’ । यो किताबले पौराणिक कथालाई आधुनिक यथार्थसँग जोडेको छ, त्यो पनि महिला दृष्टिकोणबाट । प्रेमको व्याख्या, समर्पण र विछोडलाई जसरी प्रस्तुत गरिएको छ, त्यो एकदमै गहिरो लाग्छ । राधाको आँखाबाट कृष्णलाई बुझ्नु एउटा नयाँ अनुभव हो ।

१०.सबैभन्दा मन परेको नेपाली नन –फिक्सन कृति ?
‘यदुनाथ खनालः जीवनी र विचार’ – लेखक जयराज आचार्य । यो किताबले नेपालको कूटनीतिक इतिहास बुझ्नका लागि गहिरो आधार बनाउँछ । यदुनाथ खनालको सोच, अनुशासन र अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको दृष्टिकोण मलाई एकदमै मन पर्छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय