आजको समयमा महिला र पुरुष सबैनै कामकाजी छन् । तर आज पनि बाबुआमा कार्यालयबाट घर फर्केपछि अपवाद बाहेक सबैजसो घरमा बाबु सोफा वा बिस्तारामा आरामसँग ल्यापटप अथवा मोवाईल चलाईरहेको र आमा कार्यालयको थकान झोलासँगै बिसाएर भान्सा छिरेको दृश्य देखिन्छ ।
हामी परिवर्तनको कुरा गर्छौँ तर बालबालिकाले यहि देखेर हुर्किदा त्यो समानता कसरी सम्भव छ जसले लिंगका आधारमा हुने भेदभावको अन्त्य गर्छ ?
यो सामाजिक कुरा हो । समाजमा रहेका सबैको उत्तिकै तदारुकताको आवश्यकता छ समानता नामक उपलब्धि हासिल गर्नलाई । तर, यदि यो समाजबाट सम्भव भैरहेको छैन भने को उत्तरदायी हुने ? “शिक्षामा सरकार”
भारतको केरेला एउटा उत्कृष्ट उदाहरण
शिक्षा क्षेत्रमा, शैक्षिक संस्थामा ल्याईएको सानो परिवर्तनले बालबालिकामा कस्तो छाप छोड्छ र उनिहरुको मानसिकतालाई कसरी आकार दिन्छ भन्ने कुराको उदाहरण । भरतको केरेलामा नयाँ शैक्षिक सत्र सुरु भयो । विद्यार्थीहरु अन्य वर्षकै जस्तो सामान्य उत्साह बोकेर विद्यालय पुगेका थिए ।
तर उनिहरुलाई विद्यालय र पाठ्यक्रममा भएका आश्चर्यजनक परिवर्तनले कुरिरहेको थियो । विद्यार्थीकोे हातमा परेको पुस्तक उनिहरुले पहिले देखेपढेको भन्दा बिलकुलै फरक थियो । उनिहरुले अब पढ्ने पुस्तक लैंगिक समानता झल्किने चित्र र निर्देशनहरुले भरिएको थियो । ति मध्येबाट अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा व्यापक रुपमा आएको चित्र हो यो । अब यसले परिवर्तन चाहिँ के हुन्छ जस्तो लागेको होला ।
नेपालका सामुदायीक विद्यालयहरुको अवस्था र छवीका कारण सकारात्मक उदाहरण विरलै निकाल्न सकिन्छ । तर यदि आफ्नो बच्चालाई नीजि विद्यालयमा भर्ना गर्नुभएको छ भने केहि गनेचुनेका नीजि विद्यालयले घरमै सिकाइनुपर्ने तर नसिकाईएका आफ्नो मोजा र रुमाल आफै धुने, घर वरीपरी हरियो बनाउनलाई बोट विरुवा रोप्ने, कपडा पट्याउने जस्ता सिपहरु समेत सिकाउने गरेको पाईन्छ ।
अब बच्चाले के गर्छ ? त्यही नयाँ सिकाईलाई प्रयोगमा ल्याउँछ र बाबुआमालाई पनि सिकाउँछ । यस्तै गरि केरेलाका विद्यालयको पाठ्यक्रमबाट लिएको सिखले एक त बालबालिकाले एक अर्कालाई सम्मान गर्न सिक्छन् अर्को तिर घरायसी काम भनेको सामान्य सिप हो जुन सबैले जान्न पर्छ र घर बाहिरको काम कमाउने कुरामा पनि मान्छेको मिहिनेत र सिप कारक हो उसको लिंग होईन भन्ने कुरामा सानै उमेरबाट सुसुचित हुन्छन् ।
केरेलाका विद्यालयमा भएको लैंगिक समानतामैत्री परिवर्तन यो पहिलो भने होइन । भारतीय सञ्चारमाध्यममा आएका समाचारहरुका अनुसार २०१८ मा केरेलाको अरनकुलम जिल्लामा पर्ने वलायनचिरङ्गारा गाउँको एक विद्यालयमा जेन्डर न्युट्रल युनिफर्मको नियम लागु गरेको थियो । तत्पश्चात् हालसम्म केरेलामा रहेका ४ हजार ५ सय ४ सामुदायीक विद्यालयमध्ये १२ भन्दा बढी विद्यालयमा सबै लैंगिक परिचय भएका विद्यार्थीका लागि एकै किसिमको विद्यालय पोसाक अनिवार्य गरिएको छ ।
भारतको शिक्षामन्त्रालय र अन्य निकायको पहल
भारतीय शिक्षा मन्त्रालयको सरकारी स्वायत्त निकाय राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषद्ले २०२३ मा एउटा दस्तावेज पेस गरेको थियो । उक्त दस्तावेजले विद्यालयहरूलाई लिङ्गमा आधारित भेदभाव रोक्न ट्रान्सजेन्डर समावेशी पाठ्यक्रम, सुरक्षित शौचालय, र लैंगिक समानतामैत्री पोसाक लागू गर्न निर्देश गरेको छ । केरेला बाल अधिकार आयोगले अघिल्लो वर्ष शिक्षकहरुलाई बोलाउन सर र मीस नभई टिचर भनेर सम्बोधन गर्नुपर्ने निर्णय गरेको थियो ।
यो संगै विभिन्न निजि विद्यालयहरुलेपनि ‘लेडिज एण्ड जेन्टलमेन’ जस्ता शब्दलाई प्रतिस्थापन गर्न ‘हेलो एभ्रिवान’, ‘प्यारा अतिथी’ जस्ता शब्दको प्रयोग अनिवार्य गरेका छन् ।
यी परिवर्तन माथिको प्रतिक्रिया
पोसाक परिवर्तन भन्ने वित्तिकै विद्यार्थीको सहजता र अविभावकको आपत्तिकाबारे प्रश्न आउला । यसमा ९० प्रतिशत विद्यार्थी र तिनका अविभावकको सहमती रहेको जनाईएको छ । विद्यालयहरुको यो पहलको नतिजामा सबै लैंगिक परिचय बोकेका बालबालीकाले समाजमा आफ्नो अस्तित्व र समावेशीताको महसुस गर्ने मतहरु आएका छन् । विद्यालय पोसाक राख्दै गर्दा लिंगका आधारमा नभई सहजतालाई ध्यानमा राखिनुपर्ने र यो कदमले फरक अस्तित्व बोकेका बालबलिकाहरुपनि सम्मान र सहजताका साथ पढ्न र बाँच्न सक्ने लैंगिक समानताका लागि काम गर्नेहरु बताउँछन् ।
एलजीबीटीआईक्यूप्लस समुदायको हक अधिकारका क्षेत्रमा काम गर्ने अभियन्ताहरुले पनि विद्यालयमा यस्ता विद्यार्थीले लगाउने पोसाकमा दुविधा र शौचालय प्रयोगमा आउने समस्या, रोकटोक र उत्पीडनमा पनि कमी आउने भन्दै सरकारको यो कदमको सराहना गरिरहेका छन् ।
प्रतिक्रिया