पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना.७.ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ ।
बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको छ । बस चालकलाई भने प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जानाकारी दिएको छ । घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।
प्रतिक्रिया