१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

सरकारसँग ‘स्पिड’ र ‘स्प्रिट’ मिलाउन इप्पान महासचिवमा युवा इन्जिनियर मिथुन पौडेलको उम्मेदवारी घोषणा


२८ बैशाख २०८३, सोमबार  

15
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी महासचिव पदका लागि युवा इन्जिनियर तथा ऊर्जा उद्यमी मिथुन पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

इप्पानको आगामी जेठ २९ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
ऊर्जा क्षेत्रको नेतृत्वमा प्राविधिक दक्षता, नीतिगत स्पष्टता र संस्थागत सोच आवश्यक रहेको उल्लेख गर्दै पौडेलले सरकारको वर्तमान नेतृत्वसँग “स्पिड र स्प्रिट” मिलाएर ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन् ।

हाल देशको ऊर्जा प्रशासनका अधिकांश नेतृत्वदायी निकायहरूमा इन्जिनियरहरूको नेतृत्व रहेको अवस्थामा निजी क्षेत्रको छाता संस्था इप्पानमा पनि प्राविधिक नेतृत्व आवश्यक भएको उनको भनाइ छ । वि.सं. २०४२ असारमा स्याङ्जामा जन्मिएका पौडेलले धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रथम श्रेणीसहित स्नातक तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पूर्वाधार योजना तथा निर्माण व्यवस्थापन विषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेका छन् ।

उनले काठमाडौं–तराई द्रुत सम्पर्कसँग सम्बन्धित पूर्वाधार लगानी निर्णय विषयमा शोधसमेत गरेका छन् । ऊर्जा क्षेत्रमा उनको यात्रा २०६६ सालदेखि सुरु भएको हो । गुल्मीको रुरु जलविद्युत् आयोजनाबाट इन्जिनियरिङ करिअर सुरु गरेका पौडेलले पिखुवा खोला जलविद्युत् आयोजना, डिजाइन कन्सल्टेन्सी तथा विभिन्न पूर्वाधार आयोजनामा काम गरेका थिए ।

पछि उनी सेलाङ खोला जलविद्युत् आयोजनाको व्यवस्थापन तथा नेतृत्वमा सक्रिय भए । हाल उक्त आयोजनाले व्यापारिक विद्युत् उत्पादन सुरु गरिसकेको छ । उनले जेन्युइन कन्सल्टेन्ट्स प्रालिमार्फत देशभरका जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन, निर्माण सुपरिवेक्षण, वित्तीय व्यवस्थापनलगायतका कार्यमा नेतृत्व गरिरहेका छन् । साथै ३.५ मेगावाट क्षमताको देबढुंगा जलविद्युत् आयोजना पनि अगाडि बढाइरहेका छन् ।

पौडेल हाल इप्पानको कार्यसमिति सदस्यसमेत हुन् । उनले इप्पानभित्र नीतिगत सुधार, विपद् व्यवस्थापन, सार्वजनिक–निजी साझेदारी तथा वैदेशिक लगानी आकर्षणका विषयमा काम गरेको दाबी गरेका छन् । काठमाडौँ विश्वविद्यालयको ग्रिन हाइड्रोजन प्रयोगशालासँगको समन्वयमा पनि उनले भूमिका निर्वाह गरेका छन् । उनले इप्पानलाई केवल व्यक्तिगत पहुँचको संस्था नभई अनुसन्धान, तथ्यांक र संस्थागत नीतिमा आधारित सशक्त संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ऊर्जा क्षेत्रका मागलाई प्राथमिकताका आधारमा व्यवस्थित गरी सरकारसमक्ष प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनका अनुसार इप्पानको पुनर्संरचना गर्दै नदी बेसिन तथा प्रसारण लाइन केन्द्रित उपसमिति गठन, विपद् पूर्वचेतावनी प्रणाली विकास, तथ्यांक साझेदारी तथा परियोजना समन्वय प्रणाली निर्माण आवश्यक छ । सचिवालयलाई विभागीय संरचनामा रूपान्तरण गरी विभिन्न सरकारी निकायसँग समन्वय गर्ने छुट्टाछुट्टै डेस्क स्थापना गर्नुपर्ने उनको योजना छ ।

ऊर्जा क्षेत्रलाई केवल विद्युत् उत्पादनमा सीमित नराखी राष्ट्रिय अर्थतन्त्रको ‘ड्राइभिङ सेक्टर’ का रूपमा विकास गर्नुपर्ने उनको धारणा छ । जलविद्युत्, सौर्य ऊर्जा, हरित हाइड्रोजन, डाटा सेन्टर, पर्यटन, कृषि तथा विद्युतीय यातायातलाई ऊर्जा क्षेत्रसँग जोडेर आर्थिक विस्तार गर्न सकिने उनले बताएका छन् ।

ऊर्जा खपत विस्तारका लागि विद्युतीय सवारी, रोपवे, केबलकार, हाइड्रोजन प्रविधि तथा ऊर्जा–आधारित उद्योगलाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरेका छन् । साथै निजी क्षेत्रलाई ऊर्जा व्यापारका अन्य आयाममा समेत सहभागी गराउनुपर्ने उनको भनाइ छ । पौडेलले ऊर्जा क्षेत्रभित्र अनुसन्धान र तथ्यांकमा आधारित बहसको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

इप्पानलाई केवल विकासकर्ताको संस्था नभई नीति निर्माणमा सरकारको रणनीतिक साझेदार संस्थाका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएका छन् ।

उनले ऊर्जा उद्यमीहरूको पीडालाई प्रेरणामा र संघर्षलाई सम्भावनामा बदल्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग पर्याप्त अनुभव र क्षमता हुँदाहुँदै त्यसको संगठित उपयोग हुन नसकेको बताएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली