काठमाडौं । टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपालले अपेक्षित प्रदर्शन गर्न नसक्दा ४२ रनको हार बेहोरेको छ।
यससँगै प्रतियोगितामा नेपालले निराशाजनक सुरुवात गरेको हो। अस्ट्रेलियाको डार्विनमा भएको खेलमा एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै सीमित भयो। टोलीका कुशल मल्लले सर्वाधिक ३४ रन जोडे भने गुलशन कुमार झाले २६, कप्तान रोहितकुमार पौडेलले २३ र दीपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिए। ओपनर आसिफ शेख ११ र कुशल भुर्तेल ८ रनमा आउट भए।
एनटी स्ट्राइकका बलर माट हामोन्ड सर्वाधिक सफल भए, उनले ३ विकेट झारे। त्यस्तै केन रिचार्डसन र टम एन्ड्र्युजले समान २–२ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ थालेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। टोलीका डी आर्सी सर्टले ३४ बलमा ५१ रनको आकर्षक पारी खेले। टम एन्ड्र्युजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाए।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। शहाब आलमले २ विकेट लिए भने रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र गुलशन कुमार झालाई समान १–१ विकेट प्राप्त भयो।
अब नेपालले शनिबार हुने दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग भिड्नेछ।







प्रतिक्रिया