काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा खसेको पहिरो र बाढीका कारण आज मात्रै छवटा प्रमुख सडक अवरुद्ध भएका छन्।
यसले देशभर यातायात व्यवस्था अस्तव्यस्त बनाएको छ। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण मुलुकका विभिन्न राजमार्गका खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ।
कहाँ–कहाँ छन् अवरोध?
- ललितपुर: बागमती गाउँपालिका–३ स्थित छपेलीमा पहिरो खसेर कान्ति लोकपथ आज बिहानैदेखि अवरुद्ध भएको छ।
- सिन्धुपाल्चोक: भोटेकोशी गाउँपालिकाको तीन स्थान — वडा नं २ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनाएको छ।
- नवलपरासी (पूर्व): विनयी त्रिवेणी गाउँपालिका–१ मा आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।
- गुल्मी: कालीगण्डकी गाउँपालिका–६ बर्लबामा खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा ठप्प भएको छ।
- जुम्ला: सिंजा क्षेत्रमा खसेको पहिरोले जुम्ला–मुगु सडक बन्द गरिएको छ।
- धनकुटा: साँगुरीगढी गाउँपालिका–५ मा रहेको रवि–राके–भेडेटार सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पहिरो हटाउने कार्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन्। प्रभावित क्षेत्रका बासिन्दा र यात्रुहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
अहिले पनि कतिपय स्थानमा वर्षा जारी रहेकोले पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया