शिक्षा, नेतृत्व र निरन्तर सिकाइप्रतिको आकर्षण शेषराज भट्टराईको परिचयजस्तै भइसकेको छ।
अहिले उनि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्ष छन् । तर, त्यो जिम्मेवारीभन्दा बाहिर उनिभित्र एउटा पुस्तकप्रेमी मन छ-जो किताबसँग गहिरो सम्बन्ध राख्छ । उनको कुरा गर्दा लाग्छ, किताब उनका लागि केबल पढ्ने सामग्री होइन, जीवन बुझ्ने, सोच्ने र निर्णय गर्ने आधार हुन् । विश्व पुस्तक दिवसको अवसर पारेर हामीले उनिसँग केही पुस्तक केन्द्रित कुरा गर्यौँ । कुराकानीका क्रममा किताबले कसरी नेतृत्व, विचार र व्यवहारमा असर पार्छ भन्ने धेरै कुरा खुल्दै गयो ।
इक्यानका अध्यक्ष तथा पुस्तकप्रेमी शेषराज भट्टराईसँगको यो विशेष संवाद…
१.सबैभन्दा पहिले आफैंले पैसा तिरेर किनेको पुस्तक कुन थियो ?
मैले पहिलोचोटि ‘१९८४’ किनेको थिएँ-जर्ज अर्वेलको । त्यो बेलामा म कक्षा १२ मा थिएँ, भद्रपुरको एमरल्ड एकेडेमीमा पढ्थें । हाम्रा प्रिय शिक्षक तिलक पराजुली सरले यो किताबको सन्दर्भ धेरै दिनुहुन्थ्यो-त्यसले मेरो भित्र चासो जगायो । किताबको कभर, शीर्षक, अनि त्यो सन्दर्भले मलाई खिच्यो । अन्ततः मैले आफैं पैसा जम्मा गरेर किताब किनें । जब आफैंले कमाएर वा बचाएर किताब किन्नुहुन्छ, त्यसमा एउटा भावनात्मक लगाव पनि हुन्छ । त्यसैले होला, यो किताब पढ्दा हरेक शब्द झन् गहिरो लाग्यो । त्यो दिनदेखि आजसम्म, किताब किन्नु र पढ्नु मेरो जीवनको एउटा अङ्ग नै बनेको छ ।
२. तपाईंलाई मौका मिले, कुन लेखकसँग चिया–कफी खाँदै गफ गर्न मन लाग्छ ?
मैले रोज्ने लेखक हो-मैरी वोलस्टोनक्राफ्ट शेली । उहाँले २० वर्षको उमेरमै Frankenstein लेख्नुभयो, जुन आज पनि यत्तिकै सान्दर्भिक लाग्छ । उहाँको लेखाइमा विज्ञान, दर्शन, कल्पना र समाजप्रतिको दृष्टिकोण मिसिएको छ । खासमा उहाँ १८ औं शताब्दीको अन्ततिरको लेखक हुनुहुन्थ्यो-१७९७ मा जन्मनुभएको हो । सोच्नुस् त, त्यो समयका महिला लेखकहरूले कस्तो चुनौती झेले होलान ? उहाँसँग मैले कुरा गर्न पाउँदा, उहाँको समाजप्रतिको नजरिया, लेखनको प्रेरणा र त्यो समयको बौद्धिक वातावरण कस्तो थियो भनेर बुझ्न चाहन्छु ।
३.एउटै किताब दुई फरक समयमा पढ्दा अर्थ नै फेरिएको महसुस भएको छ ?
अवश्य भएको छ । अल्बर्ट कामुको The Myth of Sisyphus पढेको बेला म युवावस्थामा थिएँ । त्यो बेला धेरै कुरा बुझिएन-केही भारी कुरा लाग्थ्यो । तर पछि, जब जीवनले विभिन्न मोड देखायो, अनि फेरि किताब खोल्दा, त्यहाँको “अवसादभित्रको विद्रोह” भन्ने भावले मलाई झनै छोयो । लाग्यो, जीवनको अर्थ त संघर्ष स्विकार्ने क्षमतामा नै रहेछ । अहिले यो किताब मलाई एउटा दार्शनिक साथीजस्तै लाग्छ, जुन कहिलेकाहीँ बोल्दैन, तर धेरै बुझाउँछ ।
४. ECAN मा नेतृत्व गर्दा तपाईंले कुन किताबहरूबाट प्रेरणा लिनुभयो ?
नेतृत्व भनेको केवल निर्देशन होइन, प्रेरणा, विश्वास र सहकार्य पनि हो । यस अवधारणा बुझ्न मलाई Leaders Eat Last (Imon Inek) ले धेरै सिकायो-नेताले अन्तिममा खाने अर्थ नै अरूको ख्याल गर्ने संस्कृति हो । त्यसबाहेक, The Art of War (Sun Tzu) बाट रणनीति र धैर्य सिकें । अनि 7 Rules of Power ले म सँग शक्ति उपयोग र सन्तुलनका तरिका साझा गर्यो । यी किताबहरूले मलाई निर्णय गर्न, टिम निर्माण गर्न र भविष्यका योजनाहरू बनाउन सघाए ।
५.तपाईंलाई सबैभन्दा मन पर्ने नेपाली लेखकहरू को–को हुन ?
शंकर लामिछानेको लेखन म निकै रुचाउँछु—उहाँका शैली, भाषिक चातुर्य र गहिरो अनुभूति अद्वितीय छन् । परिजातको ‘शिरिषको फूल’ मा जुन मौन विद्रोह छ, त्यो मलाई झनै अर्थपूर्ण लाग्छ । नयाँ पुस्ताबाट बसन्त बस्नेत मलाई मनपर्छन—उहाँको शैलीमा खोज छ, दृष्टिकोण छ, अनि सामाजिक विषयको स्पष्टता छ । उहाँको पत्रकारिता र लेखन दुवैमा एउटै गहिराइ भेटिन्छ ।
६.अहिलेसम्म सबैभन्दा धेरै कसको किताब पढ्नुभएको छ ?
बी.पी. कोईरालाकै किताब धेरै पढेको छु । उहाँको किताब एकचोटि पढेपछि मनै छोइहाल्छ, अनि फेरि पढ्न मन लाग्छ । सुम्निमा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदी आइन, हिटलर र यहूदी, सिपाहीकी स्वास्नी-यी सबै किताब पढ्दा लाग्छ, मान्छेको मनभित्र के–के चलिरहेको छ ? समाज कता गइराखेको छ ? राजनीतिमा मान्छे कति उल्झिएको छ ? सबै देखिन्छ । सबैभन्दा गहिरो असर त जेल जर्नल ले पारेको छ । जेलमा बसेर लेखिएको भए पनि, त्यो किताब पढ्दा लाग्छ-उहाँले जेलको भित्ताभन्दा बाहिरको देश, देशभित्रको दुःख, अनि राजनीति र जीवनको भित्री कुरा लेख्नुभएको हो । उहाँका कुराहरू सुन्दा यस्तो लाग्छ, मानौँ उहाँ सँगै बसेर गफ गरिरहनुभएको छ । बी.पी. का किताबले मलाई सोच्न सिकाएको छ-मान्छे बुझ्न, समाज बुझ्न, अनि आफूलाई पनि अलिक गहिरो गरि हेर्न सिकाएको छ । उहाँ लेखक मात्रै होइन, सोच्ने मान्छे हुनुहुन्थ्यो । त्यसैले होला, उहाँको लेखाइ कहिले पुरानो लाग्दैन—जति पढे पनि नयाँ कुरा भेटिन्छ ।
७. तपाईं फिक्सन पढ्न रुचाउनुहुन्छ कि नन–फिक्सन ?
म नन–फिक्सनतर्फ धेरै आकर्षित छु । विशेषतः इतिहास, कूटनीति, आत्मकथा र रणनीति सम्बन्धी किताबहरू मलाई मन पर्छ । यस्ता किताबले वास्तविक दुनियाँका अनुभव, सिकाइ र संघर्ष देखाउँछ-जसबाट म धेरै कुरा लागू गर्न सक्छु, चाहे व्यक्तिगत जीवनमा होस् या नेतृत्वमा ।
८. पुस्तकका सबैभन्दा प्रभावशाली पात्र तपाईंका लागि को हो ?
The Godfather को भिटो कोरलेओन मेरो लागि सबैभन्दा प्रभावशाली पात्र हो । यो पुस्तक मारियो पुजोले लेखेका हुन, र पछि फ्रान्सिस फोर्ड कोपोलाले फिल्म पनि बनाएका छन् । मार्लन ब्रान्डोले फिल्ममा उनको भूमिका जबर्दस्त छ ।
९. तपाईंलाई मन परेको नेपाली फिक्सन कृति कुन हो ?
कृष्ण धरावासीको ‘राधा’ । यो किताबले पौराणिक कथालाई आधुनिक यथार्थसँग जोडेको छ, त्यो पनि महिला दृष्टिकोणबाट । प्रेमको व्याख्या, समर्पण र विछोडलाई जसरी प्रस्तुत गरिएको छ, त्यो एकदमै गहिरो लाग्छ । राधाको आँखाबाट कृष्णलाई बुझ्नु एउटा नयाँ अनुभव हो ।
१०.सबैभन्दा मन परेको नेपाली नन –फिक्सन कृति ?
‘यदुनाथ खनालः जीवनी र विचार’ – लेखक जयराज आचार्य । यो किताबले नेपालको कूटनीतिक इतिहास बुझ्नका लागि गहिरो आधार बनाउँछ । यदुनाथ खनालको सोच, अनुशासन र अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको दृष्टिकोण मलाई एकदमै मन पर्छ ।
प्रतिक्रिया