१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

सहकारी बन्द हुँदा बिवाह, उपचार र आपतकालीन खर्च संकटमा


२ बैशाख २०८२, मंगलबार  

45
Shares

रुपन्देही । छोरीको विवाहको अन्तिम तयारीमा जुटिरहेकी मादिका लोनिया अहिले चनाखो भन्दा बढी चिन्तित छिन्। ५५ वर्षीया लोनियाले गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा जम्मा पारेको छ लाख रुपैयाँ फिर्ता नपाउने डरले उनको अनुहारमा खुसीभन्दा बढी निराशा झल्किएको छ।

गाउँपालिकामा रहेको सो सहकारीमा गत फागुन २६ गतेदेखि सेवा अवरुद्ध भएपछि सयौँ सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ। कति जनाले छोरीको बिवाहका लागि जोहो गरेका थिए, कसैले औषधि किन्नुपर्ने पैसा राखेका थिए भने कतिपयले आपतकालीन खर्चका लागि बचत गरेका थिए। तर, कार्यालयमा लागेको ताला खोलेर त्यो रकम निकाल्ने आशा धूमिल देखिएको छ।

सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहान पनि यस्तै पीडामा छन्। छोरीको यही वैशाखमा विवाह तय भएको छ, तर सहकारीमा थुनिएको पैसाले उनको योजना धरापमा परेको छ। उनका वृद्ध पिता बुद्धु चौहानले समेत पेन्सनबाट बचत गरेका ५० हजार रुपैयाँ त्यही सहकारीमा थन्क्याएका छन्।

गाउँका अर्का बासिन्दा छोटेलाल लोहार आफन्तहरू कहाँ आर्थिक सहयोगको याचना गर्दै हिँडेका छन्, तर जवाफ एउटै: “हामी पनि समस्यामा छौँ।” फलफूल व्यापारी विनोद बर्माले पनि छोरीको बिहेका लागि एक वर्षदेखि दैनिक पाँच सय जम्मा गरेका थिए, तर त्यो पैसा पनि अहिले अनिश्चित भविष्यको पर्खाइमा छ।

स्वास्थ्य संकट झेलेका राजकुमार केवटको अवस्था अझ जटिल छ। नियमित औषधि किन्ने पैसा सहकारीमा थुनिएपछि उनको स्वास्थ्यमा समेत असर परेको छ।

सहकारीमा सेवाप्रवाह अवरुद्ध हुनुको कारण व्यवस्थापक र कार्यालय सहायकको निलम्बनपछि सुरु भएको कानुनी विवाद हो। उच्च अदालत बुटवल इजलासले मुद्दा विचाराधीन रहेको भन्दै अस्थायी आदेश दिएको छ, जसले सेवा पुनः सञ्चालनमा रोक लगाएको छ।

सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र मुराउ भन्छन्, “अदालतको अन्तिम आदेश नआएसम्म हामी सेवाहरू सञ्चालनमा ल्याउन सक्दैनौँ।” तर वडाध्यक्ष तौलन केवट भन्छन्, “यदि सहकारीको सेवा चाँडै पुनः सुरु भएन भने गाउँमा सहकारीप्रति भएको विश्वास सधैँका लागि गुम्नेछ।”

स्थानीय बासिन्दाहरूको एउटै आवाज छ— “जब हामीले विश्वास गरेर पैसा राख्यौँ, त्यो संकटमा पनि फिर्ता हुन सकेन भने सहकारीको औचित्य के रहन्छ?” सहकारीको समस्याले अहिले गाउँमा आर्थिक मात्र होइन, सामाजिक संकटको बादल पनि मडारिन थालेको छ। यो समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकाय, पालिका र अदालतको गम्भीर ध्यान आवश्यक छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था