काठमाडौं । भारतीय क्रिकेट शिखर धवनकै कारण जारी एनपीएलमा सबैभन्दा बढी चर्चा पाएको कर्णाली याक्सले शुक्रबार आफ्नो तेस्रो खेल खेल्दैछ ।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे हुने खेलमा कर्णालीले चितवन राइनोजको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको पराजय व्यहोरेको कर्णालीले आफ्नो दोस्रो खेलमा पनि अपेक्षाकृत नतिजा हात पार्न सकेन । कर्णालीलाई जित दिलाउन भारतीय क्रिकेटर शिखर धवनको अविजित ७२ रनको योगदान पनि पर्याप्त भएन ।
कमजोर ब्याटिङ पाटर्नसिप र खराब बलिङ प्रदर्शन नै कर्णालीका लागि हारको मुख्य कारण बन्न पुग्यो । उपाधिको दाबेदार मानिएको कर्णालीको लगातारको दोस्रो हारले यतिबेला समर्थकहरुलाई भने निराश बनाएको छ । निरन्तरको हारले दबाबमा परेको कर्णाली आफ्नो तेस्रो खेलमा जसरी भएपनि जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।
यता, यसअघिका दुवै खेलमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको चितवन शुक्रबार हुने आफ्नो तेस्रो खेलमा कर्णालीलाई पराजित गर्दै ह्याट्रिक जित निकाल्न चाहन्छ । चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि ५ विकेटको शानदार जित निकालेको थियो ।
यस्तै, आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको चितवनको टिम लयमा देखिएको छ । चितवनको उक्त लयमा ब्रेक लगाउन कर्णाली कति सफल होला ?
प्रतिक्रिया