८ चैत्र २०८२, आइतबार । March 22, 2026

सङ्कटमा मादल बनाउने पेसा


२६ भाद्र २०८१, बुधबार  

51
Shares

कैलाली । सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर ।

लम्कीचुहा नगरपालिका—३ बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल । यहाँ मादल, तबला, दमु, ढोलकी बनाइन्छन् । पछिल्लो समय विभिन्न किसिमका बाजा बनाए पनि बिक्री हुन छाडेपछि खिन्न छन् तीर्थ बादी । पहिले बाजाहरूमध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको छ ।

यसले व्यवसाय नै सङ्कटमा परेको तीर्थ बादी बताउँछन् । “पहिले चाडपर्वहरूमा मादल पुर्‍याउनै सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन । मगर गाउँका स्थानीय, थारु समुदायले धेरैजसो मादल किन्ने गर्दथे, अहिले पसलमा त आउँदैनन्, गाउँमा लगेर गए पनि किन्न त परै जाओस्, सोध्ने मान्छेसम्म भेटिँदैनन्”, उनले भने ।

विगतमा यही पेसाबाट छोराछोरीको लालनपालनदेखि पठनपाठन गर्दै आए पनि हाल व्यवसायबाट हातमुख जोड्नसमेत धौधौ भएको तीर्थको गुनासो छ । “यसपटक पनि २५ वटा मादल बनाएर राखेँ । तीज आएपछि त बिक्री होलान् सोचेको थिए तर तीज सकियो, एउटा पनि मादल बिक्री भएको छैन”, उनले सुनाए । प्रविधिको विकास भएसँगै पुराना व्यवसाय हराउँदै गएको अर्का व्यवसायी कृष्ण बादी बताउँछन् । “बुबाबाट सिकेको सीप हो, त्यसैलाई निरन्तरता दिँदै आएको थिए तर अब बन्द गर्नुपर्ने अवस्था आएको छ ।

सिजनका बेला ५०/६० वटासम्म मादल बेच्ने गरेकामा अहिले त चार÷पाँच वटा बेच्न मुस्किल पर्छ”, उनले अगाडि भने, “पहिले यही व्यवसायबाटै घर खर्च, छोराछोरी पढाउन सकिन्थ्यो तर अहिले हिउँदको समयमा भारत जाने र पुर्खाको सीप जोगाउन सिजनमा बाजा बनाउनुपर्ने बाध्यता छ, त्यही पनि बिक्दैन ।” व्यवसायी रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा सङ्कट आएको बताए । “पहिले रत्यौली, तीज, देउसीँभैलो, विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रमलगायतमा मादलको अनिवार्य प्रयोग हुने गथ्र्यो तर पछिल्लो समय मादलको सट्टा डिजे प्रयोग हुन्छ ।

त्यसैले पनि हाम्रो पेसा सङ्कटमा पर्‍यो ”, उनले भने । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी मादल प्रयोग घटेसँगै परम्परागत संस्कृतिमा मौलिकता हराउँदै गएको धारणा राख्छन् । “केही दशक पहिले गाउँघरमा थुप्रै मादल बजाउने मान्छे भेटिन्थे तर अहिलेको पुस्तामा मादल बजाउन जान्ने मान्छे मुस्किलले भेटिन्छन्”, उनि भन्छन् । “अब मौलिकता जोगाउन विद्यालयस्तरबाटै मौलिक बाजाको प्रयोग र सिकाइमा जोड दिनुपर्ने आवश्यकता छ ।”

नेपालको राष्ट्रिय बाजाको रूपमा रहेको मादल लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्ने दायित्व सरकारको भएको व्यवसायीका भनाइ छ । व्यवसायी तीर्थ बादी भन्छन्, “अब आउने पुस्तालाई यसको महत्वको बारेमा बुझाउनुपर्छ । यो दायित्व सरकारको पनि हो । हामी त पुस्तौँदेखिको पेसा भएकाले माया लागेर पनि यसको संरक्षणमा लागिरहेकै छौँ ।”

सङ्कटमा पर्दै गएको व्यवसायलाई जोगाइ मौलिक बाजाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले केही कार्यक्रम ल्याइदिनुपर्ने सबैजसो मादल व्यवसायीको माग छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो