सिरोहिया पक्राउबारे केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको ओलीको भनाई थियो । अध्यक्ष ओलीले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।
रवि विरुद्ध आक्रोशित विश्वप्रकाश
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघ झापा—काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
दुई पासपोर्ट प्रकरणमा रविलाई कारबाही किन नगर्ने ?
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगरमा बिहीकार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको समेत उनको भनाई थियो ।
आफ्नो पार्टी फुटाउन राज्य शक्तिको दुरुपयोग गरियोः उपेन्द्र
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको शक्ति र स्रोत दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको बताउदै उनले प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी समेत गरेका छन् । आफू देशमा नहुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति नै चोइटिएर गएको भन्दै यादवले यसमा राज्यशक्तिको दुरुपयोग भएको बताएका हुन् ।
सन्दीपलाई भिसा दिलाउन मन्त्रालयको पहल
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा प्रक्रियामा सबै प्रकारको सहयोग गर्ने बताएका छन् । बिहीबार मन्त्री श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच लामिछानेको भिसाबारे कुराकानी भएको थियो । कुराकानीपछि मन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताएका थिए । युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लामिछानेको भिसाबारे आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।







प्रतिक्रिया