प्रतिनिधिसभा बैठकमा कुटाकुट !
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे र कांग्रेस नेताहरुसँग विवाद गरेका थिए ।
आजपनि बस्न सकेन प्रतिनिधिसभा बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए । उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे । संसद् भिडन्त उन्मुख देखिएपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका थिए ।
सभामुखको भुमिकामाथि कांग्रेसको प्रश्न
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिका माथि प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको थियो । सांसदहरुबीच धकेलाधकेलको स्थिति सभामुख घिमिरेको व्यवहारका कारणले आएको कांग्रेस महामन्त्री गगन थापाले बताए । बिहीबार संसद बैठक पछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
संसदीय समिति बन्न नदिने रास्वपाको अडान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब संसदीय समिति नबन्ने बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै रास्वपा सहप्रवक्ता मनिष झाले अब समिति नबन्ने बताएका हुन् । संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार भएमात्रै संसदीय समिति बन्ने बताएका हुन् ।
ओलीमाथि अपमानजनक व्यवहार भयोः एमाले
नेकपा एमालेले बिहीबार संसदमा कांग्रेस सांसदहरुले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । साथै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस संसदहरु उनलाई रोक्न गएका थिए । त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी ओलीबीच विवाद भएको थियो । त्यतिबेला दुबै दलका सांसदहरुबीच धकेलाधकेलसमेत भएको थियो ।
डा. गोविन्द केसीले तोडे अनशन
प्रा.डा.गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा.केसीले ६ दिनअघि अनशन थालेका थिए । नैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा.केसीले बिहीबार अनशन तोडेका हुन् ।
ओलीमाथि शेखरको गम्भिर आरोप
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्याउन खोजेको आरोप लगाएका छन् । बिहीबार पार्टी निकट वुद्धिजीविहरुको संगठन प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ को उपधारा ३ , धारा ७६ को उपधारा ५ हुँदै प्रतिनिधिसभा विघटनसम्म पुर्याउन खोजेको आरोप लागएका छन् ।
प्रचण्डमाथि खनिए माधव नेपाल
सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन गृहमन्त्री रवि लामिछाने सकारात्मक हुँदा पनि प्रधानमन्त्रीले नै समिति गठन नगरेको नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष माधव नेपालले सहकारी ठगीसम्बन्धी छानबिन गर्ने कुरामा गृहमन्त्री सकारात्मक नै भएको बताएका छन् । गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । तर, समिति गठनकै विषयलाई लिएर सदन अवरुद्ध हुन नहुने नेपालले बताए ।
विपीन जोशीलाई खोज्न नेकपा एसको पहल
इजरायलको युद्धमा परेर लामो समयदेखि सम्पर्कविहीन भएका विपीन जोशीलाई सकुशल नेपाल फर्काउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ । पार्टीका उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्ययनका लागि इजरायल गएका विपीनलाई स्वदेश फर्काउन सम्बन्धित अधिकारीसमक्ष अपील गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
केपी ओलीलाई देउवाको प्रतिपश्न
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि–इस्टेटको जग्गा बिक्रि नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्याक्रमलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओलीले जग्ग विक्रीको निर्णय गरेर कांग्रेसलाई मुछ्न खोजेको बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले जग्गा विक्री गर्ने निर्णय कांग्रेसको पालामा भएको आरोप लगाएका थिए ।
माधव नेपाल पनि कांग्रेसकै लाइनमा
नेकपा एकीकृत समाजवादीले पनि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ । बिहीबार बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाएरै अघि बढ्नुपर्ने बताएका हुन् ।
सुदूरपश्चि सरकार विरुद्धको रिट खारेज
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज गरिदिएको छ । न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको थियो । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए ।







प्रतिक्रिया