६ जेष्ठ २०८१, आइतबार । May 20, 2024

सेनावंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा



दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ । सत्रौँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको उक्त तोपको संरक्षण गर्नुपर्ने स्थानीय मदन आलेले बताए । उनले भने, “प्राचीन अवस्थादेखि नै तोप जीर्ण अवस्थामा रहेको छ । यसको संरक्षण गर्नु अत्यावश्यक भइसकेको छ ।” ऐतिहासिक सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै आलेले सत्रौँ शताब्दीमा नै यसको प्रयोग भएको उल्लेख गरे ।

उनले भने, “इतिहासको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । यस्ता वस्तुको संरक्षण गरेर यहाँ घुम्न आउने पर्यटकलाई र भावि पुस्तालाई यसबारे जानकारी गराउनुपर्छ ।”तनहुँसुर घुम्न आउने पर्यटकले तोपलाई उचाल्ने, पछार्ने, पल्टाउने काम गर्न नहुने आलेले बताए । उनले भने, “तस्बिर खिच्ने क्रममा तोपलाई चलाउने, पल्टाउने काम गरिदिन भएन । स्थानीय सरकारले यसको संरक्षणको पहल गर्नुपर्छ । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ ।”

उक्त तोपमा केही दिन अगाडि क्षति पुगेको थियो । तोप तोडफोड भएको जस्तो अवस्थामा भेटिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिए । उनले भने, “तोपलाई हल्लाउने, चलाउने गरेर क्षति पुगेको स्थानीयवासीबाट जानकारी पाएको छौँ ।” तोपलाई सुरक्षित राख्नका लागि परिसर आसपासमा तारबार गर्नुपर्ने स्थानीयले माग गरिरहेका वडाध्यक्ष दुराले बताए । तत्कालका लागि बजेट अभाव रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल गरिने उनले बताए ।

तनहुँसुर सेनवंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगँैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । राजा मुकुन्दसेनको मृत्युपरोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवादसमेत भएको इतिहासकारहरु बताउँने गरेका छन् । तनहुँसुरमा हालैमात्र खड्ग कालिका मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनःनिर्माण सुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम सकिएर उद्घाटन गरिसकिएको छ । यहाँ रहेको दरबारको विसं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनःनिर्माण गरिएको हो । केही समय अगाडिसम्म ओझेलमा रहेको तनहुँसुर अहिले पर्यटकीयस्थलका रुपमा विकास हुन थालेको स्थानीय सञ्जय श्रेष्ठले बताए ।

उनका अनुसार यहाँ सामुदायिक घरबास सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ ।

विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएका थिए । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि गृहमन्त्री रवि लामिछानेले आफू

पार्टी छाडेका सांसदलाई संसदीय गतिविधिमा रोक्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जसपा नेपाल छाडेका आशेक राईसहित ७ सांसदलाई मतदानमा

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि

सहकारी ठगी प्रकरणः कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी बिषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदेश