बझाङमा एमालेले मार्यो बाजि
बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् । लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । साथै नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।
लगानी सम्मेलनको उपलब्धि
उद्योग विभागले लगानी सम्मेलनमा ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ । विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो । विभागका अनुसार भक्तपुरमा लगानी कप्नी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको छ । यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी स्वीकृत भएको छ । यसैगरी ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ ।
अर्थमन्त्री भन्छन्ः लगानी सम्मेलन सफल भयो
अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताएका हुन् ।
प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्कीबाट २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–११ फूलबारीका ३९ वर्षीय नारायण बाँस्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बाँस्तोला रहेका छन् । उनीहरूले आइतबार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोप छ । उनीहरूबाट प्रहरीले ८ थान उत्तरपुस्तिका र ३ थान मोबाइल बरामद गरेको छ । शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
ओली विरुद्ध खनिए माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुले समाज बदल्न भूमिका खेल्दै आएको जिकिर गरेका छन् । अफूहरुले समाज बदल्न र गणतन्त्र ल्याउनका लागि भूमिका खेलेको पनि उनको भनाई थियो ।
गण्डकी सरकार विरुद्धको रिट खारेज
सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ । योसँगै मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत गणना भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश माग गर्दै रिट दायर गरेका थिए । सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो ।
अनुसन्धानको घेरामा दुर्गा प्रसाईँ
सर्वोच्च अदालत परिसरबाट ५ चैत्र २०८० मा दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो हतिया ‘इजाजत दिन मिल्ने खालको नदेखिएको’ ठहर गरेको हो । छानबिन समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य र उपसचिव एकदेव अधिकारी सदस्य–सचिव थिए ।







प्रतिक्रिया