पेट बेस्सरि दुखेको थियो । पौने नौ बजे तिर ओछ्यानबाट ओर्लिएँ । एउटा हातले पेट, अर्कोले आँखा मिच्दै टोईलेटतर्फ लम्किएँ । बुबा (हजुरबुबा) को कोठा टोईलेट सँगै जोडिएको थियो । उहाँ निस्किएर आउनु र म त्यस तर्फ जानु सँगै भयो । के गर्या, नछोई हिड्न । नछुनि हुँदा त ख्याल गर्नु नी ।
म छाँगाबाट खसे जस्तै भएँ । म नछुने कसरी भएँ ? काठमाडौँमा हुर्किएकी, आफ्नो जिवनको झण्डै दुई दशक एउटा कोठामा बाबा, ममी, भई र म बसेरे पार भएको । ममी महिनावारी हुँदा बाबाले छिछि दुरदुर गर्ने, ममीले पकाएको नखाने जस्ता दृष्य कहिल्यै नदेखेकी म । अचानक पुजनिय र असाध्यै माया गर्ने मेरो बुबाले यसो भन्दा त्यहीँ बिलाउन मन लागेको थियो ।
महिनावारी आखिर हामी महिलाले गर्ने पाप त होईन । महिनावारी नहुने हो भने जिवनचक्रनै छैन । त्यस बखतको शारिरीक पिडा अलगै । यति हुँदापनि यो समाजकै होईन जस्तो व्यवहार सात दिन सम्म किन झेल्नु पर्ने ?
आमा (हजुरआमा) सँग मेरो यस विषयमा सँधै विवाद हुने गर्छ । मलाई सम्झाउन महिलाको कमजोर स्वास्थ्य र वैज्ञानिक कारण जस्ता तर्कहरु दिन आजकल उहाँ माहिर हुनुभएको छ । तर वर्षमा एक पटक आउने बडा दशै मान्न पुख्र्यौली थलो जाँदा ममी र काकिहरुले भित्र पस्नु हुन्न भन्दै महिनावारी हुँदा ठुल्ठुला घाँसका मुठा बोकेको देखेको छु । अनि मैले आमाको तर्क कसरी पत्याउने ।
भन्सामा नछिर्ने, पुजा नगर्ने जस्ता कुराहरुलाई मैले बिल्कुलै गलत भनेको चाहिँ नठान्नुहोला है । एक त पहिले सरसफाईमा महिलाहरुलाई ठुलो समस्या हुने गथ्र्यो । मेलापात, घाँस दाउरा गर्न पथ्र्यो, त्यसैले कामको चाप बढि हुन्छ र सफा सुगर हुँदैन भनेर यस्ता नियमहरु लागु भएको हुन पर्छ । अहिले पेन्टी, प्याड, ट्याम्पोन, मेन्सुरल कपहरु लगभग धेरै महिलाको पहुँचमा छ । कम्सेकम शहरी क्षेत्रका महिलाहरुले यसको सहजै उपभोग गर्न पाउने अवस्था छ ।
अब यस्तोमा भन्सामा छिरेर पानी पिउन नपाउने, परिवारसँग बसेर खाना खान नपाउने, भाईलाई र बाबालाई छुन नहुने । यस्तो कुरा म कसरी स्वीकार गरौँ । पहिला सानो छँदा कहिलेकाहिँ आमा गाउँबाट काठमाडौँ आउँदा ममी, बाबालाई हेरेर नाक खुम्च्यानुभएको अझै याद छ । अलि बुझ्ने भएपछि पत्तो पाएँ, एउटै बिस्तारामा सुत्न हुँदैन भनेर रहेछ । महिला के शारीरिक सम्पर्क राख्ने, बच्चा उत्पादन गर्ने मेसिन मात्रै हो ?
महिनाभरि आफुले सुख दिएको श्रीमानले ४ दिन आफ्नो स्याहार गर्दा त्यही महिलालाई पाप लाग्ने ? पाप धर्मको ठेक्का महिलाको मात्रै हो ? अझ महिनावारी भएका बेला उ बेलाका महिलाहरुले भोग्नु परेको वैवाहिक बलात्कारका व्यथा सुन्दा आङनै जिरिङ्ग हुन्छ । एकपटक बिचार गर्नुहोस् त, पहिलो बच्चा मात्रै चार वर्षको छ । आमा लामो समय अस्पताल भर्ना भएर, हातमा बहीनी लिएर घर फर्किदा त्यो बच्चाको मनमा कति खुसी हुँदो हो, आमा सँग कति न्यास्रीएको हुँदो हो । आमासँग अँकमाल गर्न जाँदा ११ दिन नभई छुन हुँदैन भन्दा उसको चेतनाले के भ्याउला र बालमानसपटलमा कस्तो असर पर्ला ?
उसलाई बहिनी र आमा कमजोर छन् टाढै बाट हेर्नु अथवा दुःख नदिनु भनेर सम्झाउनु पर्नेमा यस्तो सिख दिने अनि घर बाहिर महिला अधिकारका चर्का नारा लगाउँदै हिड्ने । नेपालको संविधानले भाग ३ को धारा ३८ मा महिलाको अधिकारलाई बिशेष रुपमा उल्लेख गर्दै यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाइ मौलिक अधिकारको रुपमा सुनिश्चीत गरेको छ । तर शहरबजारका पढेलेखेका भनिएकाहरु अझैपनि पितृसतात्मक सोचबाट माथि उठ्न सकेका छैनन् । नेपालमा १५ देखि ४४ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुको प्रमुख स्वास्थ्य समस्या र मृत्युको कारण यौन तथा प्रजनन् स्वास्थ्य रहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।
छाउ गोठ प्रथाका कारण कति युवतिहरु सर्पको टोकाईले मरे, कति जंगली जनावरको पञ्जामा परे भने कति मर्यादाको खोल ओड्ने मानवरुपी ब्वाँसाहरुले लुछेर मरे । महिलाको स्वास्थ्य र जीवनसँग जोडिएको यस्तो गम्भिर विषयलाई संवेदनशिल भएर हेर्नुको साटो शारिरीक पिडा भन्दा कैयौँ गुणा बढि मानसिक पिडा दिन्छ हाम्रो समाजले । महिनावारी बिभेद/छुवाछुत जस्ता हानीकारक अभ्यासलाइ कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त छन् ।
महिनावारी सम्बन्धि हिंसाअन्त्य गर्ने उद्देश्यका साथ प्रत्यक वर्ष डिसेम्बर ८ तारिकका दिन अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । मर्यादित भित्र महिनावारी प्रति परिवर्तित र सहि सोच, महिलाको स्वास्थ्य, सरसफाई, शिक्षा, मानवअधिकार, सशक्तिकरण, मानसिक सहयोग र सानैदेखि महिनावारीका बारे सहि चेतना जस्ता कुरा पर्छ । महिला हिंसाको अन्त्य र उनिहरुको अधिकार सुनिस्चितताका लागि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न चेतनामुलक कार्यक्रमहरु गरि अभियाननै चलाईन्छ । तर विश्व स्तरीय प्रयासका बावजुदपनि पितृसतात्मक सोचले ग्रस्त समाज थोरैपनि बदलिने छाँट देखाउँदैन ।
हाम्रो समाजलाई न त यस्ता नाराले छोएको छ न महिलाको पिडालेनै ।
प्रतिक्रिया