काठमाडौं । नेपाल आयल निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ ।
डिजेल, पेट्रोल बिक्रीको एकाधिकार पाएको निगमले विद्युतीय गाडी खरिद गरेको हो । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ । निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो ।
बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले तीनवटा अल न्यु ई ६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । कम्पनीले निगमको दिगोपना र वातावरणीय जिम्मेवारीअनुरुप ती गाडीको खरिद अघि बढेको साइमेक्सले जनाएको छ । निगमका प्रोजेक्ट र आईटी विभागका निर्देशक इन्जिनियर सुरज शाहका अनुसार दिगोपनाका लागि प्रतिबद्धताअनुरुप विद्युतीय गाडीमा लगानी गरिएको हो ।
उनले विद्युतीय गाडी नै यातायातको भविष्य भएको बताए । साइमेक्सकी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले बीवाईडीका ईभी नेपाल आयल निगमले खरिद गर्नुलाई देशमा पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने र विद्युतीय गाडीको प्रोत्साहन गर्ने महत्वपूर्ण कदम भएको बताइन् । ई ६ लामो रेन्ज भएको गाडी हो ।
यसले एकपटकको चार्जमा ५२२ किमि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया