काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको ‘इम्प्याक्ट वीक २०२६’ सम्पन्न भएको छ।
चार दिनसम्म बबरमहलस्थित कलेज परिसरमा चलेको कार्यक्रममा सहभागीहरूले सामाजिक तथा नागरिक चुनौती पहिचानदेखि त्यसका व्यवहारिक समाधान विकास, प्रोटोटाइप निर्माण र परीक्षणसम्मको प्रक्रिया अभ्यास गरेका थिए। अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म सञ्चालन भएको कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका १०८ सहभागीले नेपाल, जर्मनी, भारत, संयुक्त राज्य अमेरिका र बुल्गेरियाका ३६ कोचसँग काम गरेका थिए।

डिजाइन थिंकिङमा आधारित कार्यक्रमले सहभागीलाई समस्या पहिचानमा मात्र सीमित नराखी त्यसलाई बुझ्ने, समाधानको अवधारणा विकास गर्ने र त्यसको सम्भाव्यता परीक्षण गर्ने प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागी गराएको थियो। कार्यक्रमअघि अगस्ट २६ देखि २८ सम्म जुनियर कोचहरूका लागि ‘ट्रेनिङ अफ ट्रेनर्स’ सञ्चालन गरिएको थियो। त्यसपछि तीन तहको कोचिङ मोडलमार्फत मुख्य कार्यक्रम अघि बढाइएको थियो। इम्प्याक्ट वीकमा सहभागीहरूलाई स्मार्ट मोबिलिटी, नेपालमा बसाइँसराइ, स्वतन्त्र जीवनयापन, दिगो ऊर्जा तथा स्वास्थ्य र सुस्वास्थ्य गरी पाँच विषयगत ट्र्याकमा विभाजन गरिएको थियो।
स्मार्ट मोबिलिटी ट्र्याकमा सहर तथा समुदायमा मानिस र सामानको आवतजावतलाई थप प्रभावकारी बनाउने उपायमा काम गरिएको थियो। बसाइँसराइअन्तर्गत आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइका कारण र प्रभावबारे समाधान खोजिएको थियो। स्वतन्त्र जीवनयापन ट्र्याकले विभिन्न क्षमता भएका व्यक्तिको स्वायत्तता र सम्मानजनक जीवनसँग सम्बन्धित चुनौतीलाई समेटेको थियो।
त्यस्तै, दिगो ऊर्जा ट्र्याकमा समुदायस्तरमा स्वच्छ तथा भरपर्दो ऊर्जाका उपाय खोजिएको थियो भने स्वास्थ्य र सुस्वास्थ्य ट्र्याकमा शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित चुनौतीमा केन्द्रित भएर सहभागीहरूले समाधानका अवधारणा विकास गरेका थिए।







प्रतिक्रिया