काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । नानपत कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् ।
नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् ।
नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।







प्रतिक्रिया