काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग पराजयको स्वाद चाखेको विराटनगर किंग्सले मंगलबार (आज) सुदूरपश्चिम रोयल्ससँग आफ्नो दोस्रो खेल खेल्दैछ ।
एनपीएलमा सुदूरपश्चिमको भने यो पहिलो खेल हुनेछ । मंगलबार बिहान ९ बजेर १५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा दुवै टोली आफ्नो पहिलो जितको खोजिसहित मैदानमा उत्रिनेछन् । विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् भने सुदूरपश्चिमको कप्तानी दिपेन्द्रसिंह ऐरीले गरेका छन् ।
कस्तो छ दुवै टिमको फर्मेसन ?
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्स एनपिएल उपाधि दाबेदार मध्यको एउटा टिम हो । अलराउण्डर दीपेन्द्रसिंह ऐरी मार्की रहेको सुदूरपश्चिम रोयल्स आफ्ना् पहिलो खेलमा जित निकाल्दै उपाधिका लागि बाटो सहज बनाउन चाहान्छ । सुदूरपश्चिम रोयल्समा ऐरीसँगै आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी जस्ता राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीसमेत रहेका छन् ।
टिममा इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद जस्ता युवा खेलाडी छन् । सुदूरपश्चिम रोयल्समा धेरै जसो सुदूरपश्चिमकै खेलाडीको बाहुल्यता रहेको छ । सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफा छन् । वसन्त खत्री सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी हुन् ।
टिम फर्मेसनका हिसाबले पनि सुदूरपश्चिम रोयल्स बलियो देखिन्छ ।
विराटनगर किङ्ग्स
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्ग्सले एनपीएलको पहिलो खेलमै हारको स्वाद चाखिसकेको छ । जनकपुर बोल्ट्ससँगको उद्घाटन खेलमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको विराटनगर पहिलो जितको खोजिमा छ ।
५ विदेशी खेलाडीसहित प्रभावशाली स्वदेशी खेलाडीहरु रहेको विराटनगर आफैँमा एउटा उपाधि दाबेदार टिम हो । विराटनगरसँग विश्वकै चर्चित खेलाडी मार्टिन गप्टिल छन् । गप्टिलबाहेक ओमानका अलराउण्डर आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन र स्कटिस बलर क्रिस सोल विराटनगरमा छन् ।
विराटनगरमा नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिशी, लोकेम बम, बासिर अहमद र जितेन्द्र मुखियाजस्ता खेलाडी छन् । विराटनगरका कप्तान सन्दीपसँग आईपीएलदेखि विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ जुन् एनपीएलमा काम लाग्नेछ ।
शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म ३ खेल भइसकेका छन् । जसमा जनकपुर बोल्ट्सले लगातार २ खेलमा जित निकालेको छ भने चितवन राइनोजले पनि प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
प्रतिक्रिया