माओवादीको कारबाहीविरुद्ध सांसद देवकोटा सर्वोच्चमा
ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्चमा रिट दायर गरेका छन् । २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । देवकोटाले बिहीबार सर्वोच्चमा दायर गरेको रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेशसभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन् ।
१५ करोडको कोकिन बरामद
प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पछिल्लो एक हप्तामा साढे ४ किलो कोकिनसहित ४ जना बिदेशी नागरिक पक्राउ गरेका छ । बरामद भएको लागुऔषधको बजार मूल्य १५ करोड ७६ लाख रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा तान्जानिया, बोलिभिया भेनेजुयला र भारतीय नागरिक रहेका छन् ।
फिल्डिङ र ब्याटिङमा कमजोरी भयोः कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा नेपालको बलिङ राम्रो भएको तर फिल्डिङ र ब्याटिङमा केही कमजोरी भएको बताए । बिहीबार टी–२० विश्वकपमा सहभागि भई स्वदेश फर्किएपछि पत्रकार सम्मेलनमा कुरा गर्दै उनले टिममा आत्मविश्वास भएपनि अमेरिका र वेष्टइन्डिजको मैदानको स्थितिले ब्याटिङमा धेरै राम्रो गर्न नसकेको बताए ।
मन्त्रीहरुले नटेरेको प्रधानमन्त्रीको गुनासो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको बताएका छन् । उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले बजेटमा स–साना आयोजना परेको विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘चाहे जस्तो अझै हुन सकेन, यसको निम्ति हामी सबैले प्रयास गर्नु पर्ने हुन्छ ।’
निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन् !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले प्रचण्डले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको, भुक्तानीको कारण नभएको बताए ।
श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान
श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल भएको छ । बिहीबार बिहान काठमाडौंबाट भरतपुर उडान भएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौंबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो ।
जीबी राई पक्राउ पर्ने कहिले ?
दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे ।
बजेट विनियोजनमा पदको दुरुपयोग !
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरीकन सन्तुलित रूपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् । गृहमन्त्री लामिछानेले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको पनि बताए ।
गिरीबन्धु जग्गा प्रकरणमा छानबिन हुनुपर्छ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गामा छानबिन समिति बनाउन माग गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शर्माले गिरीबन्धुको जग्गा हिनामिनाको निर्णय हुँदा २०५२ सालमा एमालेको सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको रहेको र २०७८ सालमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेको बताए ।







प्रतिक्रिया