१. लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
२. सुदूरपश्चिम प्रदेश सरकारः सरकार गठनको आह्वान
सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् । उनले दलहरूलाई ९ दिनको समय दिएका छन् । दलहरूले वैशाख २ गते बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।
३. एक्सनमा बालेन साह
काठमाडौं महानगरभित्रका विद्यालयहरुले पाठ्यपुस्तक, पोसाक र स्टेशनरी विद्यालयबाटै विक्री गर्न नपाउने भएका छन् । महानगरको शिक्षा विभागले परिपत्र जारी गर्दै यदि कुनै विद्यालयले त्यस्ता सामग्री बेच्ने र किन्न बाध्य गराए शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
४.रविमाथि बैवाहिक बलात्कारको आरोप
नेपाल आइडल सिजन–२ का विजेता तथा गायक रवि ओडमाथि बैबाहिक बलात्कारको आरोप लागेको छ । उनकै श्रीमतिले गएको चैत्र २० गते आफुमाथि वैबाहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सोहि जाहेरिका आधारमा उनिमाथि प्रक्राउ पुर्जि समेत जारी गरिएको छ ।
५.एमालेमा अझै २० बर्ष ओलीकै राज !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अझै २० बर्ष कसैले पनि आस नगरे हुने बताएका छन् । शुक्रबार एमाले कास्कीको ११ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमाले बिनाको नेपाल र केपी ओली बिनाको एमाले परिकल्पना पनि गर्न नसकिने तर्क राखेका छन् ।
६. अभिलेख संरक्षण ऐनमा कडाई
अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पुर्याए ३ बषै कैद र १ लाख जरिवानाको प्रस्ताव गरिएको छ । शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.दिपक काफ्लेले विद्युतीय रेकर्डलाई पनि अभिलेखको रुपमा राख्ने विधेयकको उद्देश्य रहेको बताएका छन् ।
७. फ्लाइओभर निर्माणको काम समयमै सक्न स्थानीयको जोड
ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् । शुक्रबार ललितपुरको ग्वार्कोमा निर्मानाधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन् । जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यो अनुसार काम नभएको स्थानीयको गुनासो छ ।
८. अर्थविद् भन्छन्ः यो लगानी सम्मेलन गर्ने उचित समय होइन
अर्थविद् केशव आचार्यले अहिले लगानी सम्मेलन गर्ने उचित समय नभएको बताएका छन् । निजी क्षेत्र खुशी नभएको र लघुवित्त, सहकारी र मिटरव्याज पीडितहरु आन्दोलित भएको समयमा लगानी सम्मेलन सफल बनाउन समस्या हुने उनको तर्क छ ।
९. सहकारी पीडितले बुझाए ओलीलाई ज्ञापनपत्र
सूर्यदर्शन सहकारीका बचतकर्ताहरुले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै सूर्यदर्शन बचत पीडित संघर्ष समितिले जीबी राईको बिषयमा सिंगो राज्य र प्रहरी निकम्मा भएको बताएका छन् । पीडितहरुले सहकारीको समस्या समाधान गर्न राज्यबाट ठोस नीति–नियम र ऐन–कानून बनाइ सहकारी पीडितलाई न्याय दिन आग्रह समेत गरेका छन् ।
१०. माओवादी नेता खामलाई थुनामा पठाउन आदेश
कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश दयारम ढकालको इजलासले खामलाई थुनामा पठाउन आदेश दिएको हो । १५ बर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट प्रहरीले पक्राउ गरेको थियो ।
११.नेपालको लज्जास्पद हार
आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ १ सय १४ रनको फराकिलो अन्तरले पराजित भएको छ । आयारल्याण्डले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा अलआउट हुँदै जम्मा ६० रन मात्रै बनाउन सफल भयो । यससँगै तीन खेलको सिरिज आयरल्याण्ड ए ले एक खेल अगावै जितेको छ ।
१२.जन्मकैदको सजाय पाएकालाई सफाइ
जन्मकैदको सजाय पाएकाहरुलाई सफाइ दिएका भन्दै उच्च अदालत जनकपुरमा आफन्तले नाराबाजी गरेका छन् । जिल्ला अदालत धनुषबाट जन्मकैदको सजाय पाएका ३ र १ सालको कैद सजाय पाएका बाँकी प्रतिवादीलाई उच्च अदालत जनपुरले सफाइ दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अदालत परिसरमा आफन्तले नाराबाजी गरेका हुन् । सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुईतर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।
१३. फ्रेण्डसिप कपः बरोडासँग ३७ रनले हा¥यो नेपाल
भारतमा जारी फ्रेण्डसिप टी–२० क्रिकेट खेलमा नेपाल ३७ रनले पराजित भएको छ । भारतको राज्यस्तरिय टोली बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर १ सय १९ रनमा समेटियो । आजको खेल हारेपनि नेपाल फाइनमा भने पुगेको छ । आइतबार नेपालले गुजरातसँग फाइनल खेल खेल्नेछ ।
प्रतिक्रिया