१२ असार २०८३, शुक्रबार । June 26, 2026

राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्बोधन

भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि फलदायी


२४ जेष्ठ २०८०, बुधबार  

3
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ता महत्वपूर्ण रहेको उल्लेख गर्दै भ्रमण विशेष गरी विद्युत् व्यापार, कृषि, सुक्खा बन्दरगाह, पारवहनलगायतका विषयमा केन्द्रित रहेको जानकारी दिए । उनले भ्रमणका क्रममा भारतसँग अतिरिक्त हवाई प्रवेश विन्दुको अनुमतिका विषयमा समेत महत्वपूर्ण र सकारात्मक छलफल अगाडि बढेको जानकारी दिए ।

उनले जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा पनि उत्तिकै गम्भीर छलफल एवम् सहमति भएको भनाइ राखेका छन् । “भारतीय भूमि हुँदै बङ्गलादेशसँग बिजुली व्यापारका लागि सहमति भएको छ । भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने बताए ।”, प्रधानमन्त्री दाहालले भने। यसले माथिल्लो तामाकोशी जलविद्यत्लगायतका आयोजनाबाट उत्पादित बिजुली निर्यात हुने वातावरण बनेको जानकारी दिए ।

जलविद्युत्को बजार सुनिश्चित भएको र त्यसले मुलुकको ऊर्जा क्षेत्रमा थप लगानीका लागि मार्ग प्रशस्त भएको, पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्र पूरा गर्ने र एक वर्षभित्र कार्यान्वयनको ढाँचा तय गर्ने सहमति भएको प्रधानमन्त्रीको भनाइ छ । टनकपुरमा पानी उपलब्ध गराउने र सीमावर्ती क्षेत्रमा हुँदै आएको बाढी तथा डुबान नियन्त्रणका लागि दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएकोसमेत प्रधानमन्त्रीले जानकारी दिए ।

साथै झुलाघाट, पूर्णागिरीलगायतका क्षेत्रमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माणका विषयमा पनि भारतीय पक्षसँग छलफल भएको उनको भनाइ छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छलफल भएको जानकारी दिँदै प्रधानन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि पनि सकारात्मक वातावरण बनेको उल्लेख गर्नुभयो । व्यापार सहजीकरण, व्यापार घाटा कम गर्ने, जुटमा लाग्दै आएको थप महसुल हटाउने विषयमा पनि भ्रमणका अवधिमा छलफल भएको उनको भनाइ छ ।

नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्ने विषयमा भारतीय प्रधानमन्त्री मोदीले पनि संयुक्त पत्रकार सम्मेलनमा नै प्रतिबद्धता व्यक्त गरेको सदनलाई जानकारी दिए । निर्माणाधीन रेलमार्गलाई गति दिने र निर्माण सम्पन्न भएका आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने विषयमा दुई देशबीच सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विराटनगर कार्गो रेल सेवामार्फत जोडिएको बताए ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीको उद्घाटन, सुनौलीमा एकीकृत चाँज चौकीको शिलान्याश, मोतिहारी हुँदै अमलेखगञ्जसम्मको पेट्रोलियम पाइप लाइन अब लोथरसम्म निर्माण हुने सहमति भएको प्रधानमन्त्रीको भनाइ छ ।

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि देशका विभिन्न स्थानमा थप पाइप लाइन निर्माणबारेमा पनि सहमति भएको उनको भनाइ छ । यसैगरी न्यू बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणका लागि भ्रमणका क्रममा नै शिलान्याश भएको प्रधानमन्त्रीले उल्लेख गरे । भ्रमणका क्रममा विभिन्न सात विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको जानकारी दिँदै प्रधानमन्त्रीले व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर भएको, त्यसमा केही दुरगामी महत्वका प्रावधान समावेश गरिएको बताए ।

त्यसबाट ब्लक कार्गो ढुवानी गर्ने सहमति भएको, भारतीय विभिन्न जलमार्गको प्रयोग गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ । दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुने वातावरण बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा निर्माण हुने विशेष आर्थिक क्षेत्रको सञ्चालन, औद्योगिक वातावरण बनाउन सहज हुने विषयमा छलफल भएको जानकारी दिए ।

फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग संयुक्त उपक्रम निर्माण गरी अगाडि बढाउने, कूल छ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका सन्दर्भमा पनि भ्रमणका क्रममा आवश्यक सहमति भएको प्रधानमन्त्रीको भनाइ छ । त्यस्तै, दुई देशबीच सहजरुपमा अन्तरदेशीय विद्युतीय भुक्तानीका विषयमा पनि सम्झौता भएको उनले जानकारी दिए ।

भ्रमणका क्रममा भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले नेपाल र भारतीय व्यवसायीबीचको अन्तरक्रिया आफैमा महत्वपूर्ण भएको बताए । मध्यप्रदेशको इन्दोरमा फोहर व्यवस्थापनमा गरेको प्रगति हाम्रा लागि पनि उत्तिकै अनुकरणीय रहेको उल्लेख गरे । प्रधानमन्त्रीले भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएकोसमेत बताए ।

भ्रमणले नेपाल र भारतबीच विश्वासको वातावरण बनाएको र आगामी दिनमा त्यसको परिणाम देखिने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १२ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर