काठमाडौं । कैलालीको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भइ डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट छुटेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् ।मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो ।
रेशमलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि नउपाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ । २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो । रेशमको रिहाइले यतिबेला राजनीतिक बृत भने तरङ्गित बनेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगाएतका दलले भने हत्या जस्तो जघन्य अपराधमा सजाय भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गर्न नहुने भन्दै विरोध गरिरहेका छन् ।
प्रतिक्रिया