काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन Doosan Bobcat India Pvt. Ltd. ले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका अत्यावश्यक निर्माण तथा उद्धार उपकरण सहयोग गरेको छ।
भदौ १०, २०८२ मा आएको भोटेकोशी नदीको बाढीका कारण जनजीवनसँगै घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक उपकरण सहयोग गरिएको कम्पनीले जनाएको छ।
चार प्रकारका अत्याधुनिक उपकरण हस्तान्तरण
Doosan Bobcat India Pvt. Ltd. ले नेपाल सरकारलाई विभिन्न चार प्रकारका उपकरण उपलब्ध गराएको छ। सहयोगअन्तर्गत ४ थान Bobcat Mini Excavators, २ थान Bobcat Backhoe Loaders, ३ थान Bobcat Skid Steer Loaders र ६ थान Bobcat Tower Lights रहेका छन्।
यी उपकरणहरू बाढी तथा पहिरोबाट जम्मा भएको भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध क्षेत्रमा पहुँच स्थापना गर्ने, सडक तथा अन्य भौतिक संरचना पुनःस्थापना गर्ने लगायतका आपत्कालीन कार्यमा प्रयोग गरिने बताइएको छ। विशेषगरी दुर्गम तथा विपद् प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाका क्रममा आवश्यक पर्ने भारी तथा बहुउद्देश्यीय उपकरण उपलब्ध भएपछि पुनःस्थापनाको कामलाई थप गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एफ.जी. इन्कर्पोरेटेडको सहकार्यमा उपकरण तयारी
नेपालका लागि Doosan Bobcat को अधिकृत डिलर एफ.जी. इन्कर्पोरेटेड प्रा.लि. को सहकार्यमा उपकरणहरूको आवश्यक सर्भिस, मर्मत तथा प्राविधिक तयारी पूरा गरी सञ्चालनका लागि तयार पारिएको कम्पनीले जनाएको छ।
नेपाल सरकारलाई औपचारिक हस्तान्तरण
सहयोगस्वरूप उपलब्ध गराइएका उपकरणहरू एफ.जी. इन्कर्पोरेटेड प्रा.लि.का अध्यक्ष पवन कुमार गुप्ता, प्रबन्ध निर्देशक केदार लामिछाने, निर्देशक पारितोष गुप्ता तथा विपिन लामिछानेले संयुक्त रूपमा एक समारोहबीच नेपाल सरकारका माननीय गृहमन्त्रीलाई हस्तान्तरण गरेका छन्।
उपकरण हस्तान्तरण कार्यक्रममा कम्पनीले विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्दै उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Doosan Bobcat India Pvt. Ltd. ले बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै विपद्पछिको उद्धार तथा पुनःस्थापना प्रक्रियामा सहयोग पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।
कम्पनीले आगामी दिनमा समेत नेपालमा विपद् उद्धार, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।







प्रतिक्रिया