काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव स्पष्ट रूपमा देखिएको छ।
सोही कारणले देशका विभिन्न भागहरूमा वर्षा भइरहेको छ। आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा आकाश पूर्ण रूपमा बदली रहेको छ भने बाँकी प्रदेशहरूमा सामान्य बदली देखिएको छ। मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशी र गण्डकी प्रदेशका धेरै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको समयमा कोशी र मधेस प्रदेशमा पूर्ण बदली रहने अनुमान गरिएको छ। बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।
रातिको समयमा कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भागहरूमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदलीको अवस्था रहने अनुमान छ। कोशी, मधेस र बागमती प्रदेशका साथै देशका पहाडी भागका केही ठाउँमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत छ।







प्रतिक्रिया