काठमाडौं । सन् २०२६ मा हुने महिला टी-२० विश्वकप ग्लोबल छनोट नेपालमा हुने भएको छ ।
आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ। १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपका लागि स्थान बनाउनेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।
खेलहरू माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने जनाइएको छ । बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्वालिफायरका लागि स्वतः छनोट भएका छन्। एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।
उता अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ। अफ्रिका र युरोपबाट दुई/दुई तथा इस्ट एसिया(प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ।
नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ।







प्रतिक्रिया