काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगिता आगामी अक्टोबरमा ओमानमा हुँदैछ।
उक्त प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। समूह १ मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ परेका छन्।
समूह चरणपछि प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। त्यसपछि सुपर सिक्स चरणको समाप्तिमा उत्कृष्ट तीन टोलीले सन् २०२6 को टी–२० विश्वकपमा स्थान बनाउनेछन्। छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म सञ्चालन हुनेछ।
१० दिनसम्म चल्ने यस महत्त्वपूर्ण प्रतियोगितामा नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनीजस्ता टोलीहरू सामेल छन्, जसले अघिल्लो संस्करणहरूमा पनि टी–२० विश्वकप खेलिसकेका छन्।







प्रतिक्रिया