काठमाडौं । एएफसी वुमेन्स एसियाकप छनोट प्रतियोगिता उज्वेकिस्तानको राजधानी तासकेन्दमा धमाकेदार मोडमा प्रवेश गरिरहेको छ।
समूह ‘एफ’ को प्रतिस्पर्धा अहिले निकै रोमाञ्चक र सनसनीपूर्ण चरणमा पुगेको छ, जहाँ आयोजक उज्वेकिस्तान र नेपाल दुवै टोली बराबरी अवस्थामा छन्। समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को सानदार जित दिलायो भने उज्वेकिस्तानले लाओसमाथि ७–० को प्रभावशाली जित निकालेको थियो।
यसअघि नेपालले लाओसमाथि ९–० र उज्वेकिस्तानले श्रीलंकामाथि १०–० को फराकिलो जित दर्ता गरेका थिए। यी नतिजाहरूपछि नेपाल र उज्वेकिस्तान दुवै टोलीले ६ अंक बटुलेका छन् र समान १७–१७ गोल गरेका छन्। उल्लेखनीय कुरा के छ भने दुवै टोलीले अहिलेसम्म एकपल्ट पनि गोल खाएका छैनन्।
दोस्रोपटक हार बेहोरेका लाओस र श्रीलंका भने शून्य अंकसहित प्रतियोगिताबाट बाहिरिइसकेका छन्। अब शनिबार हुने अन्तिम चरणका खेलहरूमध्ये लाओस र श्रीलंकाबीचको भिडन्त केवल औपचारिकता मात्र हुनेछ। सर्बाधिक चासो भने नेपाल र उज्वेकिस्तानबीचको प्रत्यक्ष प्रतिस्पर्धामा केन्द्रित हुने निश्चित छ।
यो खेल जो जित्छ, त्यही टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने वुमेन्स एसियाकपमा स्थान बनाउनेछ। तर यदि खेल बराबरीमा टुंगियो भने—गोल अन्तर, कुल गोल र अन्य सबै पक्ष बराबरी रहेमा—नियम अनुसार विजेता टुंग्याउन पेनाल्टी सुटआउट अर्थात् टाइब्रेकरमा जानुपर्ने अवस्था आउन सक्छ।
नेपालको महिला फुटबल इतिहासकै एउटा निर्णायक मोडमा रहेको यो खेल देशका खेलप्रेमीका लागि अत्यधिक प्रतीक्षित बन्न पुगेको छ।







प्रतिक्रिया