३० चैत्र २०८२, सोमबार । April 13, 2026

देशभरका प्रि-स्कुलमा एकरूपता ल्याउन नेसनल प्याबसन र काठमाडौं विश्वविद्यालयको पाठ्यक्रम हस्तान्तरण


९ असार २०८२, सोमबार  

30
Shares

काठमाडौं । देशभर सञ्चालन भइरहेका प्रि-स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को सहकार्यमा तयार गरिएको प्रि-स्कुल पाठ्यक्रम नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले पाठ्यक्रम नेसनल प्याब्सनकी केन्द्रिय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष क्षेत्रीले देशभरका प्रि-स्कुलहरू आ–आफ्नै शैलीमा सञ्चालन हुँदै आएको बताउँदै अब साझा पाठ्यक्रमले शिक्षामा समानता ल्याउने बताइन्। “शिक्षा सिकाइमा आधारित हुनुपर्छ र डिजिटल शिक्षाको दिशामा पनि अग्रसर हुन आवश्यक छ,” उनले भनिन्।

उनले पाठ्यक्रम लिपिबद्ध भएपछि पाठ्यपुस्तक र सिलेबस निर्माणको कार्य थालिने जानकारी दिँदै काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन्। काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले विश्वविद्यालयको मुख्य उद्देश्य ज्ञानमार्फत समाजमा योगदान पुर्‍याउनु रहेको उल्लेख गर्दै शिक्षा संस्थाहरूले केवल डिग्री वितरण गर्ने संस्थामा सीमित नहुने र सामाजिक रूपान्तरणको लागि प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।

“हामीले उत्पादन गर्ने ज्ञान प्रयोगयोग्य, सान्दर्भिक र समाजका जटिल चुनौतीहरू समाधान गर्न सक्षम हुनुपर्छ,” उनले भने, “यसरी विकसित गरिएको पाठ्यक्रमले प्रारम्भिक बालशिक्षामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ।” उनले नेपालको शिक्षाले अब संकुचित पाठ्यपुस्तक र अंककेन्द्रित मूल्यांकन प्रणालीबाट बाहिर निस्केर सृजनशील, समावेशी र बालमैत्री सिकाइतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसनअन्तर्गत प्रारम्भिक बाल शिक्षा तथा व्यावसायिक अध्ययन विभागकी प्रमुख डा. पार्वती ढुङ्गानाले सहकार्यको महत्त्वलाई जोड दिँदै पाठ्यक्रम निर्माण कुनै एक संस्थाको काम मात्र नभई शिक्षा वैज्ञानिक, नीति निर्माताहरू, विद्यालय सञ्चालक र शिक्षकहरूबिचको समन्वय र साझा प्रयासबाट मात्र प्रभावकारी हुन सक्ने बताइन्।

“पाठ्यक्रम बनाउने काम सिर्जनात्मक मात्र होइन, अनुसन्धानमा आधारित र साक्ष्य–समर्थित हुनुपर्छ,” उनले भनिन्, “बालबालिकाको समग्र विकासका लागि सिकाइको मनोविज्ञान, सामाजिक सन्दर्भ, स्थानीय आवश्यकता र अन्तर्राष्ट्रिय अनुभवलाई समेटेर पाठ्यक्रम विकास गर्नु अत्यावश्यक हुन्छ।”

उनले प्रारम्भिक बाल शिक्षा मुलुकको समग्र शैक्षिक आधारभूत संरचना निर्माणको जग भएको उल्लेख गर्दै विश्वविद्यालय र नेसनल प्याब्सनबिचको सहकार्यले निजी क्षेत्रलाई समेत शैक्षिक सुधारको साझेदार बनाएको बताइन्।

त्यस्तै नेसनल प्याबसनका पूर्वअध्यक्ष एवं शिक्षा नीति तथा प्रशिक्षण आयोगका संयोजक कर्ण बहादुर शाहीले नेपालको भविष्य कक्षा कोठामै निर्माण हुने भएकाले प्रारम्भिक बालशिक्षालाई अझ प्रभावकारी, वैज्ञानिक र समकालीन आवश्यकताअनुसार सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे।

“विद्यालय केवल पढाइको थलो होइन, नागरिक निर्माणको आधारशिला हो,” उनले भने, “त्यसैले बालमैत्री सिकाइ वातावरण, योग्य शिक्षक, र उपयुक्त पाठ्यक्रमको संयोजनबाट मात्र सशक्त पुस्ता निर्माण सम्भव हुन्छ।” शाहीले प्रारम्भिक शिक्षा प्रणालीलाई लामो समयदेखि उपेक्षित गरिएको भन्दै अब त्यसलाई नीति निर्माणदेखि कार्यान्वयनसम्म प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा नेसनल प्याब्सनका पूर्वअध्यक्षहरू पण्डव हमाल, ऋतुराज सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन नेसनल प्याब्सनका महासचिव प्रताप थापाले गरेका थिए। यसैबिच, नेसनल प्याब्सनको केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक ५ गतेदेखि ८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको छ । उक्त बैठकले नेतृत्व विकाससम्बन्धी विशेष तालिम समेत दिएको थिए। उपस्थित सदस्यहरूले प्रशिक्षणबाट प्रेरणा र व्यवहारिक मार्गदर्शन प्राप्त गरेको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व