काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध भएको बीपी राजमार्ग आज (मंगलबार) दिउँसो १ बजेदेखि पुनः सञ्चालनमा आएको छ।
सोमबार राति करिब १० बजे काभ्रेको रोशी गाउँपालिका–१२ मालिस्थित रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर आलेका अनुसार अहिले डाइभर्सन पुनः निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
गत वर्ष असोजमा आएको बाढीले पनि सोही स्थानमा राजमार्ग बगाएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत् नै यातायात सञ्चालन हुँदै आएको थियो। अहिले पनि यही मोडेल अनुसार समस्या समाधान गरिएको हो। यसैबीच, सोमबारको अविरल वर्षासँगै आएको बाढीले पनौती नगरपालिका–५ सुब्बागाउँकी ३३ वर्षीया रेनुका गिरीलाई बगाएर बेपत्ता बनाएको छ।
मेला गएर फर्कंदै गर्दा साँझ करिब ६ बजे ढलमले खोलामा आएको आकस्मिक बाढीले उनलाई बगाएको बताइएको छ। खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।







प्रतिक्रिया