१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक



म्याग्दी । विशाल फाँटबीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल।

वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र साँस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो। समुद्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन्। यद्यपि, बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ। लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ।

माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बनेको छ। दरबार, गुम्बा, साँस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङ पहिचान र विशेषता हो। लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य लाक्पा वाङदी गुरुङका अनुसार यो करिब ६०० वर्ष पुरानो बस्ती हो।

‘यस्तो बस्ती सायद कहीँकतै अस्तित्वमा नरहेकाले लोमान्थाङ विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो भन्ने हाम्रो दाबी छ”, उनले भने, “मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको माटोको सहर लोमान्थाङ विश्वभरका मानिसका लागि कौतुहलताले भरिएको गन्तव्य पनि हो।’

माटोको पर्खालभित्र प्राचीन बस्ती
२०० भन्दा बढी घरधुरी रहेको लोमान्थाङ बस्ती माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले घेरिएको छ। २८० मिटर उत्तर–दक्षिण र १६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ। पर्खाल बाहिरका बस्ती पछि बसेको हो।

लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पारमैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ। वि.सं. १४९७ मा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषणगरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका वडा सदस्य गुरुङले सुनाए। यहाँ लोवा समुदायका विष्ट, गुरुङ र दलित समुदायको बसोबास छ।

माइला छोरा लामा र माइली छोरी भुमा बस्ने यहाँको चलन छ। संस्कारगत कार्यमा लामा र झुमाको भूमिका हुन्छ। व्यापार, पशुपालन र खेती किसानी यहाँका बासिन्दाको आम्दानीको स्रोत हो। पछिल्लो समय यहाँका बासिन्दा जापान, युरोप, अमेरिका देश जाने क्रम बढेको छ। यहाँ कुनै पनि प्रकारको मुद्दा नभएका व्यक्तिलाई बुद्धिमान र ऋण नभएकालाई साहुका रूपमा चिनिन्छ। अधिकांश मुद्दा, झैझगडा परिवार वा गाउँभित्रै मुखियाबाटै हुने गरेको छ।

महिलाले बख्खुको अगाडि पाङ्देन र पछाडि केदेन लगाउँछन्। अगाडिपट्टिको पाङ्देन विवाहितले मात्र प्रयोग गर्छन्। विवाहको संकेत नै पाङ्देन हो। गाउँमा कसैको घर निर्माण गर्दा गाउँलेले दुईतीन दिन बिनाज्याला सहयोग गर्ने परम्परा कायमै छ।

साँस्कृतिक राजा, ऐतिहासिक दरबार र गुम्बा
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा साँस्कृतिक राजा अस्तित्वमा छन्। राजपरिवारका सदस्यहरुको उपस्थितिमा चाडपर्व, सभासमारोह र विशेष कार्यक्रम हुने स्थानीयवासी कर्म आङ्गेलले बताए। ‘साँस्कृतिक रूपले हाम्रो समाजमा राजा अस्तित्वमै छन्’, उनले भने, ‘महत्त्वपूर्ण कार्यक्रम साँस्कृतिक राजपरिवारका सदस्यको उपस्थितिमा हुन्छ।’

लोमान्थाङका अन्तिम तथा २५औँ पुस्ताका राजा जिग्मे परवल विष्टको विं.सं. २०७३ मंसिरमा मृत्यु भएको थियो। १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यका रूपमा रहेको लोमान्थाङ १८४६ मा बृहत् नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले तत्कालीन तेह्रौँ राजा वाग्याल दोर्जे परवललाई नेपालमा गाभिएको आश्रित राज्यका रूपमा लालमोहर लगाइदिएका थिए। नेपाल एकीकरणपछि आंशिक अधिकारसहित स्वतन्त्र छाडिएका चार रजौटामध्ये लोमान्थाङमा पनि एक रजौटा रहे।

नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने २०७४ देखि भुरे राजा–रजौटाको शासन अन्त्य गरेको हो। मुलुकमा राजतन्त्रको अन्त्यसँगै तत्कालीन मुस्ताङी राजाले पनि आफ्नो भूमिका राजाका रूपमा नरहेको घोषणा गरेका थिए। गणतन्त्रपछि राज्यबाट प्राप्त हुँदै आएको सुविधा रोकिएको थियो। मुस्ताङी राजा आमे पालले इ.सं. १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ।

ढुंगा, माटो र काठले बनेको यो दरबार २०७२ साको भूकम्पका कारण चर्किएपछि मर्मत गरिएको थियो। बाहिरबाट हेर्न सकिने विशाल दरबारभित्र पस्न भने रोक लगाइएको छ। यही दरबारबाट तत्कालीन मुस्ताङी राजाले राज्य सञ्चालन गर्थे। १५औँ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन्।

काठ, ढुंगा, माटोले बनेका गुम्बाभित्र कलात्मक थांका र मूर्ति छन्।

वार्षिक तीन हजार पर्यटक
सन् २०२४ को सेप्टेम्बर २२ सम्म दुई हजार ११ विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताए। वर्षको अन्तसम्म पर्यटक आगमनको संख्या तीन हजार नाघ्ने अनुमान गरिएको छ। लोमान्थाङ अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएको छ।

सन् २०२३ मा ७० देशका तीन हजार ४८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए। सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो। लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं.५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ।

उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ। १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ। मुस्ताङ भित्रने कुल पर्यटक संख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जाँदैनन्। आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न पाउँदैनन्।

लोमान्थाङका २५ वटा होटलमा दैनिक ४०० पर्यटक बास बस्नसक्ने क्षमता रहेको मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताए। लोमान्थाङमा सडक यातायातको सुविधा पुगेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको