९ कार्तिक २०८३, सोमबार । October 26, 2026

राजस्व लक्ष्यभन्दा २६ प्रतिशत कम


१७ श्रावण २०८१, बिहिबार  

9
Shares

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।

कार्यालयलाई विभागले रु २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात रु २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व सङ्कलन भएको हो । कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व सङ्कलन हुने गरेको थियो ।

विभागले लक्ष्य बढाउने तर राजस्व सङ्कलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार गत आवमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । आयकरका लागि विभागले रु दुई अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो ।

कार्यालयले रु २ अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले रु २ अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा रु १ अर्ब ९५ करोड २२ लाख सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिए ।

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले रु २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले रु १५ अर्ब ९८ करोड ८२ लाख सङ्कलन गरेको हो । बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । रु ६० करोड ५ लाख लक्ष्य दिइएकोमा रु ४० करोड ३४ लाख राजस्व सङ्कलन भएको भट्टराईले बताए ।

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो । उनले भने, “लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि सङ्कलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।” बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ ।

देशमा रोजगारीको अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ । उनले भने, “घर जग्गा कारोबार कम हुँदा पनि राजस्व सङ्कलनमा कमी आएको हो ।” कार्यालयमा गत आवमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने १ लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार ९ सय १९ जना रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा