२० असार २०८३, शनिबार । July 4, 2026

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ जनाको मृत्यु


२३ असार २०८१, आइतबार  

39
Shares

काठमाडौं । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ ।

पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराले ४३ घर पूर्ण रूपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्ण रूपमा र छ घर आंशिक रूपमा क्षतिग्रस्त छन् । बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । ‘बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ’, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, ‘यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ ।’

उनका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनिल पोखरेलले सोमबारदेखि मुलुकभर बाढीको जोखिम कम हुने जानकारी दिए । ‘आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार कुनै पनि नदी बाढीको खतरा तहमा पुगेको छैन, मुलुकको विभिन्न नौ वटा नदीहरू सतर्कता तहमा छ’, उनले भने, ‘क्रमिक रूपमा नदीमा पानीको प्रवाह घटिरहेको छ, भोलिदेखि बाढीको खतरा तत्कालका लागि टर्नेछ ।’

गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ । बाढी जस्तै पहिराको पूर्वसूचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा. सुवोध ढकालले बताए । ‘राजमार्गमा पहिराको सम्भावना बढी हुने भएकाले यात्रा गर्दा विशेष ध्यान दिऊ । जमिन चिरा देखिएमा तत्काल खाँदेर पुर्ने र पानी तर्काउने काम गरौँ, नसकेमा सुरक्षित स्थानमा बस्ने, जथाभाबी भल बग्ने गरेको छ भने सामान्य कुलो बनाई पानीलाई एकीकृत गरी तर्काउनुपर्छ’, उनले भने, ‘तपाईँ बस्ने स्थानमा पहिले पहिरो गएको छ भने निरन्तर निगरानी गर्ने, सुरक्षित स्थानमा बस्ने, जमिन अथवा पहरोमा अनौठो किसिमको कटकट आवाज सुनियो भने पहिरोको संकेत हुनसक्ने भएकाले सतर्क रही सूचना दिनुपर्छ ।’

उनका अनुसार सुकिसकेका कुवा धारामा एक्कासि पानी आउन थाल्यो वा पानी आउने धारा कुवामा पानी सुक्न थाल्यो भने जमिन हलचलको सङ्केत हुनसक्छ ।

२७ सडकखण्ड अवरुद्ध

ललितपुरस्थित बागमती गाउँपालिकामा गएको पहिराले कान्ति लोकपथ पूर्ण रूपमा अवरोध भएको छ । सङ्खुवासभास्थित मकालु गाउँपालिकामा गएको बाढीले दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सङ्खुवासभाकै भोटखोला गाउँपालिकामा बाढीले कोशी रोजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

सुनसरी वराहक्षेत्र नगरपालिका–१ मा गएको पहिराले चतरा–वराहक्षेत्रको भित्री सडक अवरुद्ध छ । रसुवास्थित आमाछोदिङ्गो गाउँपालिका–५ मा गएको पहिराले स्याफ्रुबेसी–थाम्बुचेत सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । चितवनस्थित इच्छाकामना गाउँपालिका–३ मा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–४ मा गएको पहिरोले भीमफेदी–काठमाडौँ–हेटौँडा राजमार्ग एकतर्फी सञ्चालन छ ।

सोही गाउँपालिका–८ को पहिराले कान्ती लोकपथ एकतर्फी सञ्चालन छ । काभ्रेको रोशी गाउँपालिकामा गएको पहिराले बिपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ । मनाङको चामे गाउँपालिकामा गएको बाढीले चामे–बेंसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी बेनी नगरपालिका–४ मा गएको पहिराले बेनी–दरबाङ सडक अवरुद्ध छ भने कुश्मा नगरपालिकामा गएको पहिराले बेनी–जोमसोम सडक अवरुद्ध छ ।

पर्वतको मुलढुङ्गा बेनी सडक र सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सञ्चालन छ । तनहुँको म्याम्दे गाउँपालिकामा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । नवलपरासीपूर्वको कालीगण्डकी करिडोर र बागलुङको मध्यपहाडी लोकमार्ग पहिरोकै कारण पूर्ण रूपमा अवरुद्ध छ । प्यूठानको स्याउलीवा बाग्दुला र भालुवाङ दाङ प्यूठान सडकखण्ड बाढी, पहिराका कारण अवरुद्ध छ ।

यसै गरी पाल्पाको सिद्धार्थ राजमार्ग, तम्घास–बुटवल सडक, कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन भएको छ । गुल्मीको रिडी–बाग्लुङ सडकखण्ड, कालीगण्डकी करिडोर सडक, मदन भण्डारी राजमार्ग र अर्घाखाँचीस्थित गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड, पाल्पा अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ । रोल्पाको सहिद राजमार्ग अवरुद्ध छ । दाङको घोराही–तुल्सीपुर सडकखण्ड एकतर्फी भएको छ । कालीकोटको कर्णाली राजमार्ग अवरुद्ध छ ।

अछामको साँफे–मार्तडी, बैतडीको जयपृथ्वी राजमार्ग र डडेल्धुराको भिमदत्त राजमार्ग पूर्ण रूपमा अवरोध पुगेको छ । बैतडीको बझाङ–खोड्पे बैतडी सडकखण्ड र बाजुराको साँफे मार्तडी सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालन रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर