२३ बैशाख २०८३, बुधबार । May 6, 2026

असार २० गते बिहीबार दिनभर के–के भयो ?

केन्द्र देखि प्रदेशसम्मै सरकार अल्पमतमा ! प्रचण्डलाई गल्हत्याएर निकाल्ने तयारी ! रविमाथि मुकुलका २७ आरोप ! खल्तीमै अड्कियो रास्वपा मन्त्रीको राजीनामा ! माधव नेपाल फेरी अध्यक्ष…


२० असार २०८१, बिहिबार  

2.7k
Shares

सुदूरपश्चिम सरकार धरापमा !
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ । बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् । रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् ।

लुम्बिनी सरकार पनि अल्पमतमा
सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।

माधव नेपाल फेरी अध्यक्ष
नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् । जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुङ्गयाउने निर्णय भएको छ ।

रविमाथि लागेका २७ आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सातदिने निलम्बनमा परेका महामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेका २७ कमजोरी औँल्याएका छन् । ढकालले ३८ जिल्लाको समीक्षा यात्रापछि तयार पारेको आफ्नो प्रतिवेदनमा पार्टीका समस्या र कमजोरीलाई उजागर गरेका हुन् । प्रशिक्षणको अभाव, संचार, संवाद, सम्पर्क र समन्वयको अभाव, पार्टीमा कामको मूल्यांकन भएन, पार्टीमा एकलौटी निर्णय लादियो, नेताहरू सुविधाभोगी भए, धेरै बोलेर बिग्रियो, पार्टी एनजीओ जस्तो भयो, पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन जस्ता बिषयहरु ढकालले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

क्रसर व्यवसायीको आन्दोलन स्थगित
आन्दोलनरत क्रसर व्यवसायीहरुको माग सम्बोधनका लागि पहल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएको छ । उक्त ३ बुँदे सहमतिसँगै क्रसर व्यवसायीहरुले तीन सातादेखि जारी आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । वार्तामा संसदमा दर्ता भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० छिटो पारित गर्न मन्त्रालयले समन्वयकारी भूमिका खेल्ने, नवीकरण छुट भएका उद्योगहरुको नवीकरणका लागि आवश्यक व्यवस्था गर्ने र २०७९ साल माघ ११ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय कार्यान्वयन गराउन भूमिका खेल्ने सहमति भएको छ ।

खल्तीमै अड्कियो रास्वपा मन्त्रीको राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । बिहीबार बिहान राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका थिए । प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेपछि रास्वपाका मन्त्रीहरुले राजीनामा नदिई फर्किएका थिए ।

प्रचण्डलाई एमालेको चेतावनी !
नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ ।

प्रचण्डलाई गल्हत्याएर निकाल्ने तयारी !
नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको बताएका छन् । महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका हुन् । एमालेसँगको गठबन्धनपछि पनि प्रचण्डले दायाँबायाँ गरिरहेको उनको आरोप छ । अहिलेको सरकार ढाल्न प्रधानमन्त्री प्रचण्ड बाहेक कसैको भूमिका नरहेको भन्दै उनले संविधान पुनरावलोकनका लागि दुई दल एक ठाउँमा उभिएको पनि बताए । साथै उनले प्रधानमन्त्री अल्पमतमा परिसकेकाले नैतिकताका आधारमा राजीनामा दिए मार्ग प्रशस्त गर्न आग्रह समेत गरेका छ ।

लेनडाँडामा फास्ट ट्रयाकको अर्को सुरुङ पनि ब्रेक थ्रु
काठमाडौं तराई मधेश दु्रतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६ सय १२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । योसँगै फास्ट ट्रयाकमा पर्ने तेस्रो सुरुङ पनि छिचोलिएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको