जोगियो गण्डकी सरकार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्ष्मा ३१ मत पर्यो भने विपक्षमा २८ मत परेको छ । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् । यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो । देवकोटा माओवादीबाट चुनाव लडेर निर्वाचित सांसद् हुन् ।
त्रिविको जग्गा खोजिँदै
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा चल अचल सम्पति खोज्न गठित समितिले काम सुरु गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले काम सुरु गरेको हो । समितिका अध्यक्ष तथा पदाधिकारीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार मन्त्रालयमा स्वागत गरेसँगै समितिले काम अघि बढाएको हो । समितिल प्रारम्भिक चरणमा काठमाडौँ उपत्यका भित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजबिन तथा लगत संकलन गर्नेछ ।
सहकारी प्रकरणले संकटमा गृहमन्त्री
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा मिसिल झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइमा आवश्यक मिसिलहरू प्राप्त नभएकाले उक्त मिसिलहरू मगाउने आदेश दिएको हो । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि पोखरा प्रहरी कार्यालयमा पेस भएको जाहेरी पेस गर्न भनेको थियो । तर आजको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस नगरेपछि मिसिलहरू मगाउने बारे बहस भएको थियो ।
दुर्गा प्रसाईंलाई राहत
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफरिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौं विश्वविद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।
महँगी साढे ४ प्रतिशत
नेपाल राष्ट बैंकले गत बैशाखमा महंगी करिब साढे ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही महिना मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत रहेको थियो ।
बढ्यो रेमिटेन्स
रेमिटेन्स आप्रवाह १९ दशमलव २ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक बर्षको १० महिनामा १९ दशमलव २ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । अघिल्लो बर्षको सोहि अवधिमा २३ दशमलव ४ प्रतिशत रेमिटेन्स आप्रवाह बढेको थियो ।
बढ्यो विदेशी विनिमय सञ्चिति
मुलुकको विदेशी विनिमय सञ्चिति बढेर साढे १९ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो । यो परिमाणमा २६ दशमलव २ प्रतिशतले वृद्धि भई २०८१ वैशाखमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।







प्रतिक्रिया