ओलीप्रति बालेनको आक्रोश
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । गिरीबन्धु टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनको पीडितको बैना फिर्ता गर्न भनेका छन् । बैना लिनेहरुलाई दुई बर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौ भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन् ‘समयमै गिरिबन्धुका पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’ गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको रहेको बालेनको आशय छ ।
बालेनलाई ओलीको जवाफ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग सोध्न आग्रह गरेका छन् । सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले टी–इस्टेटबारे बालेनलाई सोध्न आग्रह गरेका हुन् । मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी–इस्टेटको घोटाला लुकाउन जग्गा बाँड्ने प्रलोभन देखाएको उल्लेख गरेका थिए ।
काठमाडौं महानगर र सडक विभाग आमनेसामने
न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारको लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर, नगर प्रहरी त्यस स्थानमा पुगेपछि विवाद भएको थियो । काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई निर्देशन दिएको थियो । महानगरले निर्देशन नमानेपछि सोमबार बिहान डिभिजन सडक कार्यालयको टोली आफैँ पिच गर्न पुगेको थियो ।
दावरीका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन् गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन सहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावी सहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।
मनसुनमा १८ लाख मानिस प्रभावित हुने आकलन
गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपदबाट १८ लाख १ हजार जनसंख्या र ४ लाख १२ हजार घरधुरी प्रभावित हुने आकलन गरेको छ । यो गत वर्षको तुलनामा ६ लाखले बढी हो । गत २०८० सालको मनसुन अवधिमा प्राधिकरणले मनसुनजन्य विपदबाट १२ लाख ५४ हजार व्यक्ति र २ लाख ८६ हजार घरधुरी प्रभावित हुने अनुमान सार्वजनिक गरेको थियो । यस वर्ष प्रत्यक्ष प्रभावित हुनसक्ने घर परिवारको संख्या ८३ हजार र उद्धार तथा राहत दिनुपर्ने घर परिवारको संख्या १८ हजार हुने अनुमान छ ।
मौद्रिक नीति लचिलो ल्याउँछौंः गभर्नर
नेपाल राष्ट्र बैंकका गमर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति लचिलो ल्याउने बताएका छन् । आइतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै लचिलो कार्यदिशा अवलम्बन गरेको बताए । उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफलका माध्यमबाट लचिलो मौद्रिक नीति ल्याउने बताए । राष्ट्र बैंकले मौद्रिक नीति तयारीका लागि छलफल सुरु गरेको र अधिकांशको चासो कर्जा प्रवाह सहज बनाउनुपर्ने र ब्याजदर रहेको बताए ।
लुम्बिनी प्रदेश सरकार विस्तार
लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्रीका रुपमा कृष्ण केसी थपिएकी छन् । यसअघि १० ओटा मन्त्रालय रहेकोमा भागबण्ड मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्याएको थियो । सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित भएकी हुन् ।
अर्थमन्त्रीसँग बजेट क्यालेन्डर माग
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अर्थमन्त्री बर्षमान पुनसँग बजेट क्यालेन्डर माग गरेका छन् । क्यालेन्डर नै बनाएर बजेट कार्यान्वयनमा जान नसके प्रतिफल दिन नसक्ने उनको भनाई छ । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक बर्षको बजेटमाथि बोल्दै उनले यस्तो बताएका हुन् । काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्ने गरी बजेट क्यालेन्डर बन्नुपर्ने उनको सुझाव छ ।
बजेटको समर्थनमा कांग्रेस नेता
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकारको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सकारात्मक भएको टिप्पणी गरेका छन् । बजेटले राखेको १२ खर्ब ६० अर्ब राजश्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने भन्दै उनले औषधि प्रयोजनका लागि गाजा खुला, घरेलु मदिरा बिक्री गर्ने कानुनी व्यवस्था, जडिबुटी खेती र गैरकानुनी कारोबार नियन्त्रण गर्ने हो भने १९ खर्ब राजस्व उठाउन सकिने हिसाब सुनाए । आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा बोल्दै बजेटले केही नयाँ कार्यक्रम र आइडिया ल्याएको पनि उनको भनाई थियो ।
बोल्दा बोल्दै संसद्मा निदाए चित्रबहादुर !
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रत्यक बर्ष संसद्मा बजेट आउने, छलफल हुने तर प्रस्तुत बजेटमा परिवर्तन नहुने प्रवृति रहेको उल्लेख गर्दै उनले छलफलको औचित्य पुष्टि हुन नसकेको पनि बताएका थिए । साथै उनले सरकारले समाजवाद उन्मुख बजेट ल्याएको तर योजनाहरु पुँजीवाद उन्मुख रहेको बताए ।







प्रतिक्रिया