काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न रु १५ अर्ब २१ करोडको विद्युत् भारतबाट आयात गरेको छ ।
सुक्खायाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट आयात गरिएको हो । यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।
गत वर्षको जेठदेखि यस वर्षको हालसम्म रु १५ अर्ब ६२ करोड बराबरको विद्युत् प्राधिकरणले भारतर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म रु १३ अर्ब ४७ करोडको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आवमा निर्यातभन्दा रु एक अर्ब ७४ करोडको बढी विद्युत् आयात गरेको हो ।
यस अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो । आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य नौ रुपैयाँ दुई पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य आठ रुपैयाँ ३८ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिमाणबाट चालू आवमा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए ।
प्रतिक्रिया