सहमतिका लागि कांग्रेसले अडान छोड्नुपर्छः महेश बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा गृहमन्त्रीको नाम राख्न नसकिने बताएका छन् । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने कार्यदलको सदस्यसमेत रहेका उनले आफूहरू वचत रकम अपचलन भएका सहकारी र गोर्खा मिडिया प्रालिको नाम कार्यादेशमा राख्न सहमत भएको तर कांग्रेसले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाम राख्नुपर्ने अडान राखेको बताए । कांग्रेसको अडान सम्भव हुने ढंगको नभएको र यो सरकारमा जान नपाउँदाको पीडा मात्रै रहेको उनको दावी छ ।
ओलीले रविको पक्ष लिएर गिरिबन्धुमा साथ खोज्दैछन्ः विश्वप्रकाश
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने र गिरीबन्धुमा साथ लिने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए ।
अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
सरकारलाई कांग्रेसको चेतावनी
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामना गर्न तयार रहेको बताएका छन् । सरकार पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने चेतावनी उनले दिए । उनले आफूमाथि मात्रै अन्याय भएको महशुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको बताए । प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको नेता सिटौलाको बुझई छ । उनले कानून संघीय संसदले बनाउनुपर्ने भएपनि प्रदेश लक्षित बन्न नसकेको बिचार व्यक्त गरे ।
सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राख्दै लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि माग गरेको छ ।
कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बहिष्कार
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको छ । आइतबार दिउँसो बसेको बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बहिष्कार गरेको हो । कांग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग सहित नाराबाजी गर्दै बाहिरिएका थिए । कांग्रेस र नाउपाको रेशम पक्षले सभा बहिष्कार गरेपनि राप्रपाको उपस्थितिमा सभामुखले बैठक सञ्चालन गरेका छन् ।
हेटौंडा उपमहानगर भित्रका ११ सहकारी सम्पर्कविहीन
हेटौंडा उपमहानगरभित्र दर्ता रहेका ११ वटा सहकारीको अवस्था फेला पार्न सकिएको छैन । तीन वर्षदेखि खोजी गर्दा पनि ती सहकारीहरू पत्ता लाग्न नसकेको उपमहानगरको उद्योग, पर्यटन तथा सहकारी प्रवद्र्धन शाखाले जानकारी दिएको छ । शाखा प्रमुख हिमप्रसाद पौडेलकाअनुसार सम्पर्कविहीन ११ वटा सहकारीलाई सहकारी तथा गरिबी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) रेकर्डबाट हटाइएको छ ।
१२ खर्ब पुग्यो बेरुजु
कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ठूलो मात्रामा थप भएपछि हालसम्मको बेरुजु रकम करिब १२ खर्ब बेरूजु पुगेको उल्लेख छ । यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह,सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ ।
मेयरलाई एक बर्ष कैद
जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो । उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।







प्रतिक्रिया