८ चैत्र २०८२, आइतबार । March 22, 2026

किसानलाई हत्ते, बालीमा फौजी र औँसाको सङ्क्रमण


७ जेष्ठ २०८१, सोमबार  

6
Shares

म्याग्दी । लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको मकैखेती र फलफूलमा रोग तथा कीराको सङ्क्रमण देखिएको छ ।

खडेरीका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएपछि चिन्तित बनेका किसान मकै छर्ने समयमा पानी नपरेपछि उत्पादन हुने सबै ठाउँमा खेती गर्न सकेका छैनन् । खडेरीमा छरिएको मकै पानी परेपछि निकै ढिलोगरी उम्रेका र ती बिरुवामा पनि डडुवा र फौजी कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका हुन् ।

मालिका–६ का किसान वीरबहादुर विश्वकर्माले मकैबालीका साथै फलफूल, तरकारी र कोसेबालीमा समेत औँसा र फौजी कीराको सङ्क्रमण देखिन थालेको बताए । जिल्लाको मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकालगायत बेनी नगरपालिकाका विभिन्न ठाउँमा गरिएको मकैखेतीमा रोगको सङ्क्रमण देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।

यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको सङ्क्रमण प्रकोप देखिएको मालिका–१ निस्कोटका कृषक तीर्थबहादुर पुनले बताए । उनका अनुसार सुन्तला र केराखेतीमा पनि सङ्क्रमण देखिन थालेको छ ।

फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत तरकारी तथा फलफूलमा औँसा, घोगा लाग्न थालेका मकैमा फौँजी र केरा खेतीमा खपटे कीराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका मङ्गाला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

प्रायःफल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । किसानले लगाएका काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औँसा कीराको सङ्क्रमण भेटिएको उनको भनाइ छ ।मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कीराको सङ्क्रमणलाई थप फैलिन नदिन किसानलाई सचेत गराइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार कृषि प्राविधिकले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको छ ।

गोलभेँडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेका मङ्गला–५ का किसान विक्रम सेनले बताए । उनका अनुसार जिल्लाका अधिकांश स्थानमा लगाइएका मकै, फलफूल तथा तरकारीखेतीमा विभिन्न सङ्क्रमणले क्षति पुर्‍याएको छ ।

निस्कोट, रणबाङ, ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौर, रुम, देविस्थानलगायत क्षेत्रका किसानले लगाएको मकैबालीमा फौजी कीराको सङ्क्रमण अत्यधिक देखिएको केन्द्रले जनाएको छ । घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको मङ्गला–२ का प्रताप सापकोटाले बताए ।

उनका अनुसार विषादीलेसमेत कीराको आक्रमण रोकिन सकेको छैन । बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरका किसानले लगाएका सयौँ रोपनी जमिनको मकै बालीमा फौजी कीराको सङ्क्रमण देखिएको भन्दै कतिपय ठाउँमा विषादीलेसमेत समस्या समाधान नभएको कृषि प्राविधिक बानियाँले जानकारी दिए ।

कीराको सङ्क्रमण नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराइँदै आइएको उनले बताए । यहाँका किसानले परम्परागतरुपमा लगाउँदै आएका मकैबालीमा फौजी कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुकोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी कीराको आक्रमण बढेकाले बोट जोगाउनै मुस्किल परेको कृषि प्राविधिक बानियाँले बताए ।

प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि देखिन थालेका कृषि प्राविधिक बताउँछन् । फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानका साथै घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने बानियाँले बताए । जिल्लामा व्यावसायिकरुपमा गरिएको केरा र आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेकाले सबै समयमै सचेत भई समाधानका उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

डढुवा रोगका कारण आलुका बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि सङ्क्रमण कम नभएको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताए । किराका साथै रातो कमिलासमेत देखिन थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो