८ चैत्र २०८२, आइतबार । March 22, 2026

बाउबाजेको बिडो धान्दै मह सिकारी

प्रचलनको प्रवर्दन र व्यवसायीकरण 'हनी हन्टिङ'


२६ बैशाख २०८१, बुधबार  

39
Shares

कास्की । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् ।

भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् ।सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ । टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन् ।

ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन् । पितापूर्खाको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन् । मङ्गलबारदेखि मह सिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका–५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताए।

“हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ”, उनले भने, “हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको छ ।” घर्तीका अनुसार ताराखोला–५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिरमौरीबाट दुई सय ६० लिटर मह काढिएको उनले बताए ।

“मङ्गलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ”, ५१ वर्षीय घर्तीले भने “१४ घारको मह काढ्न अझ एक÷दुई दिन लाग्न सक्छ ।”ताराखोलाका अन्य भिरमा पनि एक/दुई घार मौरी रहेको उनि बताउँछन् । कुनै बेला दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ ।

मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कोहिले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताए । “मह सिकार निकै साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ”, उनले भने, “पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ ।”

मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ यानि भर्‍याङ मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी, चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताए ।

“पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्”, उनले भने, “निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्टाइन्छ र तलपट्टि डालीमा थापिन्छ ।” मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उनको भनाइ छ ।

मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताए । एक लिटर महलाई रु १५ सयसम्ममा बिक्री गर्ने गरिएको छ । “संस्कृति र परम्पराका रुपमा घरगाउँमा भिरमहको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ”, सचिव घर्तीले भने ।

ताराखोलाकै मपेसमा रहेको तीन घार भिरमौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ । ग्रामीण पर्यटन प्रवर्दनमा भिरमहलाई जोड्दै आएको गलकोट नगरपालिका–१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’कै आयोजना गरेको छ ।

वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले जानकारी दिए । पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उनको भनाइ छ । औषधिजन्य गुण र स्वास्थ्यवर्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन् ।

मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताए । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट–१० का अध्यक्ष भक्तबहाुदर काउचाले बताए। गाउँलेले पुस्तौँदेखि मह सिकार गर्दै आएको उनको भनाइ छ ।

“अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन्” वडाध्यक्ष काउचाले भने, “पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ ।” महसिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने बिचार उनको छ । ताराखोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ ।

गलकोट नगरपालिका–४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ ।

पर्यटन प्रवर्दनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतु उक्त महोत्सव गर्न लागिएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो