४ असार २०८३, बिहिबार । June 18, 2026

आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा


२० बैशाख २०८१, बिहिबार  

174
Shares

धुलिखेल । बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ ।

पल्लो टोलको सानो धारामा प्लाष्टिकको बोतलमा पानी थापेर बसिरहेका रञ्जिता तामाङ र रजनी तामाङ भने टन्टलापुर घाममा पिउनका लागि पानी जोहो गरिरहेका छन् । बिहान पढ्नका लागि विद्यालय गएका उनिहरु बेलुका घर फर्किँदा सबै जलेर उराठ भएपछि बिचल्लीमा छन् ।

जोगेश्वर माविमा कक्षा ६ मा अध्ययनरत रजनी र रङ्गीन प्राविमा कक्षा ३ मा अध्ययनरत रञ्जिता १७ महिनाको सानो भाइ र आमासहित चारजना दुई दिनदेखि टोलबाट अलि परको अर्को घरमा आश्रय लिइरहेका छन् । “विद्यालय जाने बेलामा परेकाले पढ्ने किताबकापी त हामीसँगै छ”, रजनीले भने, “खाने अन्न, सुत्ने ओछ्यान र लगाउने कपडा सबै डढेर सखाप भएको छ, अलिअलि भएको बिस्कुट र चाउचाउ खाएर बसेका छौँ ।” बाबा विदेशमा भएकाले आफूहरू चारजना अर्कै घरमा सरेर बसेको दुवै जनाले सुनाए ।

सोही गाउँका माथिल्लो टोलका सत्यलाल तामाङले घरभित्र जलिरहेको दलिनको ठुटोको प्वालबाट निस्किरहेको धुँवा नियाल्दै भने, “यो घरलाई जोगाउन सकिएन, तल्लोपट्टि रहेको एउटा घरलाई भने नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर पानी छर्केरै भएपनि जोगाउन सफल भइयो, अहिले त्यही बसिरहेका छौँ ।” जिउमा लगाउने कपडाबाहेक भएभरको सामान निकाल्न नभ्याएपछि विपद् व्यवस्थापन समिति र सहयोगी सङ्घसंस्थाले दिएको राहतको भरमा चलिरहेको उनले बताए ।

सोही ठाउँका अर्का पीडित कान्छीमाया तामाङले एक्कासी भएको आगलागीका कारण घरभित्र भएको सबै जलेपछि केही निकाल्न नपाएको बताउँछिन् । “अहिले के गर्ने कस्तो गर्ने भन्नेमा अन्योल छ”, उनले भनिन्, “सबैको सरसहयोग रहे पनि हामी भने अलमलमै छौँ ।” काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर जलेर नष्ट भएपछि यहाँको सिङ्गो तामाङ बस्ती नै बिचल्लीमा छन् ।

गाउँ नजिकै भएको सामुदायिक वनमा भएको आगलागीबाट सिङ्गो गाउँ नै सखाप हुनेगरी जलेपछि अहिले सो ठाउँमा वडा, गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समितिदेखि विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आइरहेको छ । पीडामा परेका परिवारलाई राहतदेखि सान्त्वना प्रदान गर्न सानोपोटामा आफन्त र सहयोगी हातहरूको उपस्थिति हुने क्रम निरन्तर छ । घरभित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेपछि बिचल्लीमा परेका यहाँका बासिन्दा राहतको भरमा छन् भने दैनिक कायममा समेत फर्कन सकेका छैनन् ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले घटना भएपछि स्थानीय विपद् व्यवस्थापन समिति निरन्तर रूपमा सहयोगका लागि परिचालन भइरहेको बताउँछन् । तत्कालीन रूपमा राहत उपलब्ध गराउन गाउँपालिकाले बुधबार दुई बोरा चामल, दाल, मेष्ट्रिस, नुन, तेल वितरण गरेको उनले बताए । त्यस्तै नेपाल रेडक्रस र अन्य सङ्घसंस्थाको सहयोग पनि जारी रहेको समितिले जनाएको छ । त्यससँगै खानेपानीको पाइप जलेर समस्या भएको खानेपानीको आपूर्तिका लागि पालिका लागिरहेको र दीर्घकालीन व्यवस्थापन तथा पुनःस्थापना गर्ने विषयमा छलफल भइरहेको अध्यक्ष लामाले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले बुधबार स्थलगत अनुगमन गर्दै जिल्लामा एकैपटक धेरै घर जलेको पहिलोपटक भएको जनाएको छ । घटनापश्चात तत्कालीन राहत तथा व्यवस्थापनका लागि काम भइरहेको र दीर्घकालीन व्यवस्थापनका लागि भएकोलाई मर्मत गर्ने तथा केहीलाई पुनःनिर्माण गर्नुपर्ने हुनसक्ने भएकाले प्राविधिक टोलीबाट क्षतिको पूर्ण विवरण आइसकेपछि तीनै तहका सरकारको सहयोगमा निजी आवास पुनःनिर्माण अनुदानभित्र रहेर व्यवस्थापन गर्न प्रयन्त गरिने उनले बताए ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार आगलागीबाट रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ तथा चार शौचालय जलेर नष्ट भएका र अझै विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा