१७ बैशाख २०८३, बिहिबार । April 30, 2026

वैशाख ९ गते आइतबार दिनभर के–के भयो ?

विपिन जोशीःन सास फर्किन्छ न लास नै ! एमाले अध्यक्ष ओली अस्वस्थ ! सहकारी पीडितको रोदन ! लुम्बिनी सरकारमा बबण्डर…


९ बैशाख २०८१, आइतबार  

126
Shares

१. जसपाले छाड्यो लुम्बिनी सरकार
जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन् । उनले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद समेत दिएका छन् । चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए ।

२. वाम एकताबारे फेरीएको प्रधानमन्त्रीको बोली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबिच अहिले एकताको सम्भावना नभएको बताएका छन् । आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । उनले भने ‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम सबै छन् । त्यसैले सत्ता समीकरणका रूपमा लिएका छौँ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ’, उनले भने ।

३.सहकारी प्रकरणले पिरोलिएका रवि लामिछाने
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेकी हुन् । पत्रकारिता पेसामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसंग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्ता समीकरणमा पनि जोडिएर आएको उल्लेख गरेकी हुन् ।

४.विपिन जोशीःन सास फर्किन्छ न लास नै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त समेत गरे । उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारुकतापूर्वक निर्वाह गरेको उल्लेख गरे ।

५.सहकारी पीडितको रोदनःचाँडो न्याय देउ सरकार
काठमाडौं उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गरेका छन् । सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र गौतमश्री बहुउदेश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर पुगेर आफूहरूलाई सरकारले बेवास्ता गरेको बताए । उनीहरूले ठुला सहकारी सञ्चालकले सरकारका प्रतिनिधिको मिलेमतोमा आफूहरूलाई फसाउने गरेको आरोप समेत लगाएका छन् । पीडितले सरकार पीडितलाई न्याय दिन आलटाल गरिरहेको र यसअघि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग सरकारले गत चैतमा गरेको सम्झौताको समेत कार्यान्वयन समेत नगरेको भन्दै आक्रोश समेत पोखेका छन् ।

६.वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादनमा जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन् । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए ।

७. राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टी जिम्मेवारीबाट अलग
राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेले आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी हुन् । घिमिरेले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानून र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।

८. एमाले अध्यक्ष ओली अस्वस्थ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन सहभागी हुन सकेनन् । एमाले नेताहरुका अनुसार उनलाई रुघाखोकीले सताएको जनाइएको छ ।

९.सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ । आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् ।

१०. मुख्यमन्त्री सोडारी विरुद्ध सर्वोच्चमा रिट
सुदूरपश्चिमका मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नयुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित