१. नेपालको शानदार प्रर्दशन
टी–यू क्रिकेट मैदानमा नेपाल र आयरल्याण्ड ए बीच भएको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका । आयरल्याण्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
२. गृहमन्त्रीको राजीनामा माग
मानव अधिकार तथा शान्ति समाजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेकोा संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले गृहमन्त्रीले आफैँ मार्गप्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । शान्ति समाजले गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा उन्मुक्ति पाउन सुनकाण्डमा पक्राउ परेको माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई छाडेको जिकिर समेत गरेको छ ।
३.मन्त्रिपरिषद् विस्तार
जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेता नवलकिशोर साह सुडीले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
४. जनमतको उम्मेदवार सार्वजनीक
सिके राउत नेतृत्वको जनमत पार्टीले इलाम–२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको निर्णय गरेको छ । पार्टी अध्यक्ष राउतले पहिचानवादीहरुको साझा उम्मेदवारका रुपमा थाम्सुहाङलाई अगाडी सारिएको बताएका छन् । थाम्सुहाङ पछिल्लो समय कोशी प्रदेश नाम खारेजी गर्नुपर्ने अभियानमा सक्रिय रहेका थिए ।
५. ट्याक्टर दुर्घटनाः पाँच जनाको मृत्यु
अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ बर्षीय रङ्ग धामी, १५ बर्षीय जनक धामी, ४५ बर्षीय प्रेम धामी, ३७ बर्षीय नरबहादुर धामी र २१ बर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । षोडशाबट साँफेबगरतर्फ जाँदै गरेको ०१–००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको थियो ।
६. दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको आदेश
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
७. स्पट फिक्सिङको आरोप लागेका पाँच खेलाडीलाई सफाइ
नेपाली क्रिकेटमा स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर र व्यवस्थापक गरि पाँच जनाले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेको क्रिकेट खेलाडी र व्यवस्थापक विरुद्ध सीआईबीले गरेको दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेको हो । गतबर्ष नेपाली टी–२० लिगमा स्पट फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलम, आदिल अन्सारी सहित टिम व्यवस्थापक र टिम मालिक रहेकाहरु नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया