मेरो जन्मले घर झलमल भएको थियो रे ! ‘घरवाला’को अनुहार प्रफुल्लित थियो रे ! जन्मिँदा आफू सानै थिएँ, के थाहा पाउनु । बल्ल बुझ्दै छु, एउटै क्रियाको फरक व्यक्तिमा फरकफरक प्रतिक्रिया हुन्छ ।
मेरा हजुरबा खुसी थिए रे ! वंश अघि बढाउने नाति भयो भनेर । हजुरआमालाई नाति चाहिएको थियो, ‘बैतरणी तर्न’ । बाले मलाई पहिलोपटक काखमा लिँदा भनेका थिए रे, ‘मेरो दुःख साट्ने, परिवारका लागि जस्तो पनि आँट्ने, मेरो चट्टान मेरो छोरो।’ मभन्दा अघि तीनजना दिदी जन्मँदा बुबाले के भन्नु भयो म जान्दिनँ ! उहाँको मुहारमा त्यो कान्ति थिएन रे, जुन कान्ति मेरो जन्ममा थियो । श्रीमानको हेलाँ, ससुराको कर्के नजर र सासुको टोकसोबाट मुक्ति पाएकोमा मेरी आमालाई अलग्गै सन्तोष थियो रे ! नौ महिना कोखमा हुर्काएर संसारमा स्वागत गर्दाको खुसी त हुने नै भयो ।
ठूली दिदी मभन्दा ६ वर्ष जेठी छिन् । माइली दिदीसँग चार वर्ष र कान्छी दिदीसँग १८ महिनाको फरक छ । म दुई–चार वटा बाख्रा लिएर गोठालो हिँड्न सक्ने हुँदा जेठी र माइली दिदी दैनिकजसो मेला हिँड्थे । कान्छी र म चाहिँ उज्यालो भएदेखि राति सुत्ने बेला नहुँदासम्म सँगै हुन्थ्यौँ । हामी साथमा नभई पनि नहुने र हुँदा पनि झगडा गरिरहन्थ्यौँ । हाम्रो जति झगडा गर्न सायद कुकुर र बिरालोले पनि ल्याकत राख्दैनथे । रहरको एक मात्र छोरो भएकाले होला, बा र हजुरआमाको गाली भने सधैँ कान्छीको भागमा पथ्र्यो। गल्ति गरेरै पनि गाली खान नपर्दा मलाई खुसी लाग्थ्यो । अहिले सोच्छु– मेरो गल्तिमा किन गाली गरिन्थ्यो दिदीहरुलाई ? के दिदीहरु रहरका सन्तान थिएनन् ?
एउटा घटना अहिले पनि धुमिल भएर स्मिृतीमा बसेको छ । बुबाले कान्छी काकीसँग घर किन्नुभएको थियो । घर पछाडी गोठ थियो । घरलाई देब्रे पारेर गोठतिर लाग्दा दाहिनेतिर बाख्राको खोर । मलाई कैली बाख्रिको अचम्मै माया लाग्थ्यो, कान्छीलाई लम्कानेको । त्यो दिन कसको बाख्रो पहिला हुल्ने भन्ने निहुँ थियो, घमासान झगडा पर्यो । बुबाले झोक्किँदै आएर कान्छीको देब्रे गालामा तीन तारा देखिने गरी बजाइहाल्नुभयो । मेरो डरको सीमा रहेन। कान्छीको मायाले हो या आफूले पिटाइखाने डरले हो– भक्कानो फुट्यो, डाँको छोडेर रुन थालेँ ।
अब के ! कान्छो छोरो, प्यारो छोरो । थप्पड दिदीले खाएकी थिई, तर बिचरा म नै भएँ । हजुरबाले पँधेराबाट आउँदाआउँदै गाग्री पिँडीमै बिसाएर मलाई काखमा राख्नुभयो । ‘धत् लाटा, छोरा मान्छे भएर पनि रुन्छन् ! लाज हुँदैन ? देख्नेले के भन्लान् ? चुप लाग्,’ मलाई मुसार्दै हजुरबाले भन्नु भयो।
२०६४ साल पुसमा दमका कारण हजुरबा बित्नुभयो । घरपरिवार शोकमा डुबेको थियो । फुपू र काकीहरु भक्कानिएर रुँदै थिए । मलाई पनि आफूभित्र भएको गंगा रित्तिने गरी रुन मन थियो । तर, हजुरबाकै समिपमा हुर्किएको म, मनमा लागिरहन्थ्यो– ‘छोरा मान्छे भएर रुनुहुन्न ।’ ६९ सालमा कान्छीको विवाह भयो । विवाहको कुरा पक्का भएदेखि नै मलाई नमजा लाग्न थाल्यो । मेरो दिदी भने पनि साथि भने पनि कान्छी नै त थिई ।
कान्छीलाई अन्माएर पठाउँदै गर्दा मैले आफ्नो बालापनलाई पनि सँगै बिदाई गरेँ । तर पनि दुई थोपा आँसु खसेनन् । किनकी म त छोरा मान्छे पो हुँ त । चार वर्षअघि पाठेघरको क्यानसरले आमा बित्नुभयो । जीवनमा पहिलोपटक यति धेरै पिडा महसुस गर्दै थिएँ । भक्कानिन मन थियो । एकान्तमा हुँदा कहिलेकाहीँ परेली रुझिरहन्थे । तर, सायद पुरुष अहमका कारण होला आँशु झार्न भने सकिन ।
अचेल मेरी श्रीमती रुपाका कुरा सुन्दा केही फरक महसुस गर्छु । उनका कथा सुन्छु, भोगाइ सुन्छु । उनी रुन्छिन्, उनलाई सम्झाउँछु । म आफैंँ उनलाई मन फुकाएर रुन भन्छु । तर, आफ्नो दुख पोख्न सक्दिनँ । आँशु झार्न सक्दिनँ । सधैँ उनी प्रश्न गर्छिन्– ‘मलाई मन खोलेर रुन इन्करेज गर्ने आफू किन आँशु लुकाउनुहुन्छ ? किन केटा मान्छे रुन हुँदैन सोच्नुहुन्छ ? के पिडाको पनि जेन्डर हुन्छ ?’
प्रतिक्रिया