१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक


१३ असार २०८०, बुधबार  

6
Shares

काठमाडौं । आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको छ ।

खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ । त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ दशमलव चार प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक दशमलव चार प्रतिशत र मासु उत्पादन एक दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६ दशमलव तीन प्रतिशतले घटेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६ दशमलव २३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन सात दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३ दशमलव सात प्रतिशत रहेको छ ।

यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७ दशमलव नौ प्रतिशत रहेको छ । पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५० दशमलव ०३ प्रतिशतले घटेर एक लाख ९६ हजार पाँच सय ९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व रु नौ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा जनाइएको छ । घर तथा भवनको स्थायी नक्सा पास सङ्ख्या ३७ दशमलव पाँच प्रतिशतले घटेको छ ।

विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव एक प्रतिशतले र कर्जा प्रवाह चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९ दशमलव चार प्रतिशत र ५५ दशमलव छ प्रतिशत रहेको छ ।

निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः एक दशमलव दुई प्रतिशत र एक दशमलव दुई प्रतिशत रहेको छ । विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कूल सवारीसाधनको सङ्ख्या चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ ।

पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र तीन हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । यो अवधिसम्ममा अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा नेपाली वायुसेवा र २९ वटा विदेशी वायुसेवा गरी ३२ वटा वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् ।

सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको सङ्ख्या ३३ रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था