८ चैत्र २०८२, आइतबार । March 22, 2026

पूर्वी नेपालमा बाढीको वितण्डा: एक जनाको मृत्यु, थुप्रै वेपत्ता


३ असार २०८०, आइतबार  

6
Shares

ताप्लेजुङ । ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ ।

प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो । निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन् । मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन् ।

यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिराले बगाएर बेपत्ता भएको छ । बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ ।

यता वर्षाको क्रम निरन्तर रहेकाले पहिराले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए । यद्यपि मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताएका छन् ।

यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिराले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ–ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ । स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङसहितको तीन घर पहिराले बगाएको छ । त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहेका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिए ।

यस्तै सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ । स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिराको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन् । त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन् ।

दोभान बजारका स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ । मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घर पहिराको जोखिममा परेका स्थानीयले बताएका छन् । ताप्लेजुङको सदरमुकामसहित धरै क्षेत्रमा विद्युत समेत अवरुद्ध भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिराले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिराले जनधनको क्षति पुर्याउन थालेको छ ।

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताए । उनले स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि जानकारी दिए । प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गरेका छन् । बाढीले मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ ।

पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिए । तमोर करिडोरका विभिन्न स्थानमा समेत बाढी र पहिराको प्रभाव रहेकाले समन्वय गरेर मात्र यात्रा गर्न उनले आग्रह गरेका छन् ।

हेवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम–इलाम हुँदै झापा निस्कने सम्पर्क टुटेको छ । प्रहरीका अनुसार इखोलामा रहेको बिबिएसल पुलसमेत पहिरोले बगाएको छ । उता तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटीय क्षेत्र दोभान बजार जोखिममा परेको छ । दोभान वारि–पारि हुने मोटरेबल पुल नजिक गएको पहिराले सडक अवरुद्ध गरेपछि आठराई–क्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्कबिच्छेद भएको डिएसपी लिम्बूले जानकारी दिए ।

यस्तै सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारि गएको पहिराले बाँधथलाबाट गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ । विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढीपहिराले क्षति पुगेपछि गाउँघर अन्धकार बनेका छन् ।

रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि केही सामान्य भएको छ । गए रातिको वर्षा, बाढी र पहिराले पुगेको क्षतिको थप विवरण प्रहरीले सङ्कलन गरिरहेकाले यकिन विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो